जीबी राईका अन्य दुई साथीविरुद्ध पनि इन्टरपोलमा डिफ्यूजन नोटिस
एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएसँगै थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा उनीहरू जोडिएका हुन् ।
सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध आइतबार अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले डिफ्यूजन नोटिस जारी गरेको छ । शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो ।
यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरूमा चलाउने भएको वा नभएको लोकेट हुनेछ । त्यसपछि उनलाई रिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।
सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यो मामलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।