नेपाल भ्रमणमा रहेकी चिनियाँ उपमन्त्रीको टोलीद्धारा प्रधानमन्त्री, एमाले र समाजवादीका अध्यक्षसंग भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए । उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएका हुन ।
टोलीले शनिवार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसंग पनि भेट गरेका छन् । भेटका क्रममा एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।
शनिबार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानसँगको शिष्टाचार भेट गर्ने क्रममा सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो । ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबिचको सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा पनि छलफल भएको एमालेले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हायानले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संग पनि भेटवार्ता गरेका छन । हायान नेतृत्वको प्रतिनिधि मण्डलले शनिबार साँझ एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर पार्टी नेतृत्वसँग भेटघाट गर्नुका साथै समसामयिक विषयमा छलफल गरेको हो ।
भेटवार्तामा अध्यक्ष नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, पार्टीका अन्य नेताहरू साथै विदेश विभागका सदस्यहरूको उपस्थिति रहेको विदेश विभाग सचिव डा शंकर खतिवडाले जानकारी दिएका छन ।