कोशीको घटनाले गठबन्धन टुटाउँदैन, पार्टीले छानबिन गर्नुपर्छ- उदयशमशेर जबरा
नेपाली कांग्रेसका नेता तथा सांसद उदयशमशेर जबराले कोशीको घट्नाले अहिलेको सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने,‘गठबन्धनमा कोशी प्रदेशमा केही समस्या आएको हो । यसले गठबन्धन टुटाउँदैन । कोशीमा मात्रै समस्या देखिएको छ, अरू ६ प्रदेशमा क्लिन–इलेक्शन भएको छ । कोशी प्रदेशमा अत्यन्तै बढी राजनीतिक अस्थिरताको खेल भएको छ । यो राष्ट्रिय राजनीति भन्दा पनि प्रदेश राजनीतिको ह्याङओभर हो । हाम्रो पार्टीले यसमा छानबिन गर्नुपर्ने हुन्छ । यो कारणले गठबन्धन टुट्दैन ।’
जबराले अर्को निर्वाचन नआएसम्म सत्ता गठबन्धन कायम रहने दाबी गरे । उनले राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसको दाबी हुने सुनाए । उनले भने,‘यसबारे सहमति भएको वा नभएको भन्ने कुरा शीर्ष नेताहरूबिचको कुरा होला, तर मैले पाएको सूचनाअनुसार राष्ट्रियसभाको अध्यक्ष कांग्रेसको भागमा परेको छ ।’ उनले नेपालमा राजनीतिक स्थायित्वको खडेरीले गर्दा विकास निर्माणका कार्यहरू अवरुद्ध भएको टिप्पणी गरे । उनले नेपालमा सरकार मात्रै नभएर नीति, नियमहरू पनि अस्थिर हुनु दुःखद भएको बताए ।