हिजोदेखि अबिरल वर्षा – ठाउँ–ठाउँमा पहिरो, मुख्य सडक अवरुद्ध – Nepalboli

हिजोदेखि अबिरल वर्षा – ठाउँ–ठाउँमा पहिरो, मुख्य सडक अवरुद्ध

   १५ असार २०७९, बुधबार  

गए रातिदेखि परेको अबिरल वर्षाले सडकमा पहिरो खसेपछि पाल्पाका मुख्य राजमार्ग र सहायक राजमार्गमा यातायात अवरुद्ध भएका छन् । वर्षासँगै सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा पहिरो खसेको छ । यस्तै सिद्धार्थ राजमार्गकै पाल्पा राम्दी खण्डको रम्भा सेरामा पहिरो खसेको छ । पहिरोका कारण राजमार्गमा सवारीसाधन गुड्न सकेका छैनन् ।

यस्तै तानसेन तम्घास सडकखण्डको जोर्तेमा समेत पहिरो खस्दा सडक अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

विभिन्न स्थानमा खसेको पहिरो हटाउने प्रयास भइरहेपनि निरन्तर पानी परिरहेकाले पहिरो हटाउन समस्या रहेको उहाँले बताउनुभयो । यस्तै बाँसटारी–झडेवा सडक, तानसेन–आर्यभाङ्ज्याङ् र तानसेन–छहरा सडकमा भने सवारीसाधन सञ्चालनमा छन् ।

पहिरोले पसल बगायो

जिल्लाको रैनादेवी छहरा–४, स्थानीय मंगल सिंह हिताङ्को पसलमा गएराति पहिरो खसेको छ । पसल पहिरोले बगाउँदा भित्र रहेका सामग्री पूर्ण रुपमा नष्ट भएको स्थानीय बासिन्दा नित्यानन्द पोखरेलले जानकारी दिनुभयो ।

पहिरोले मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । रातिदेखि अबिरल परेको वर्षात्ले जिल्लाका अन्य स्थानमा समेत क्षति पुगेको हुन सक्ने र विवरण अहिलेसम्म प्राप्त नभएको प्रहरीले जनाएको छ ।

बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध

निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिरोले पूर्णरूपमा अवरुद्ध बनाएको छ ।

लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ । वर्षात्ले गलकोट नगरपालिका–१ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ ।

यस्तै बागलुङबाट म्याग्दी जिल्ला जोड्ने मुख्य सडकसमेत पहिरोले अवरुद्ध बनाएको छ । बागलुङ नगरपालिका–४ र म्याग्दीको बेनी नगरपालिका–१ को सिमानास्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ ।

पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन खण्ड अवरुद्ध

दमौली– मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको खड्काले बताउनुभयो ।

ठूला ढुङ्गा खस्दा डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ– अविरल वर्षासँगै गए राति ठूला ढुङ्गा खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वैकल्पिकरूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोड्ने सडकमा माथिबाट दुईवटा ठूला–ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएपछि सवारीसाधन सञ्चालन हुनसकेका छैनन् । त्यहाँ एक्साभेक्टर लगेर ढुङ्गा फुटाएर मात्र सवारीसाधन सञ्चालनमा आउने उहाँको भनाइ छ । सवारीसाधन सञ्चालन हुन नसक्दा समयमै गन्तव्यमा पुग्नुपर्ने यात्रु बढी मर्कामा परेका छन् । यहाँ असार लागेयता मात्र सातपटक बाढी पहिराले सडक अवरुद्ध बनाइसकेको छ ।

मङ्गलबार बाढी–पहिराले अवरुद्ध बनाएपछि पहिरो हटाएर साढे १० बजेदेखि सञ्चालनमा आएको उक्त सडकमा पुनः अवरुद्ध भएको छ । डुम्रे–बेँसीसहर सडक ४२ किलोमिटर लामो छ ।

रौतहटको गौर र आसपास क्षेत्र जोखिममा

पछिल्लो ६ घण्टामा अविरल परेको बर्षाका कारण रौतहटको गौर र आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपरानउन आग्रह गरेको छ । रौतहट आसपासभई बहने साना नदीहरुमा बाढीको जोखिम भएकोले तटीय क्षेत्र तथा डुबान भईरहेको होभा भूभागमा रहनेहरुले उच्च सतर्कता अनपाउन मौसम विभागले आग्रह गरेको हो ।

यसैगरी अविरल परेको बर्षासँगै आएको बाढी तथा डुवानले प्रदेश १ को जनजीवन प्रभावित बन्दै गएको छ । गए रातिदेखिको निरन्तरको बर्षले पहाडी भेगमा पहिरोको जोखिम बढ्दै गइरहदा तराइमा डुवानले जनजीवन प्रवाभित बनेको हो ।

मौसम पूर्वानुमान महासाखाले आगामी तीन दिनसम्म निरन्तर बर्षा जारी रहने भन्दै सजक रहन आग्रह गर्दै गर्दा प्रदेश १ सभाका सदस्यहरुले बाढी तथा डुवानमा परेकाहरूलाइ तत्काल उद्घार तथा राहतको व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गरेका छ्न् ।

मंगलबारको प्रदेश सभाको बैठकमा बोलेका सदस्यहरुले बाढी तथा डुवानका कारण जनजीवन प्रभावित बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। यता प्रदेश १ सरकारले भने नागरिकको उद्घार गर्नका लागि कुनै कसर बाकी नराख्ने बताएको छ ।

सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले डुवानमा फसेका नागरिको उद्धार कार्य जारी रहेको बताउनुभयो । ‘सरकार उद्धार तथा राहतको कार्यमा खटिरहेकोले सुचना पाउन साथ सुरक्षाकर्मीको टोली परिचालित भैरहेको छ । उहाँले भन्नुभयो, ‘विपतका बेला नागरिक सुरक्षित भएर बसौं । एकअर्कामा सहयोगको भावना राखेर काम गरौं ।’

मन्त्री कार्की मंगलबार डुवान तथा बाढीको निरीक्षण गर्नका लागि जानुभएको थियो । विराटनगर वडानं ६ र ११ को सिमानामा केसलीया खोलाको अनुगमनका क्रममा मन्त्री कार्की पीडितसँगै रहनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै