सर्लाहीको लालबन्दीका बचतकर्ताको रकम लिएर फरार सहकारीका सञ्चालक पक्राउ
सर्लाहीको लालबन्दीमा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रबन्धक बचतकर्ताको बचत रकम लिएर फरार भएपछि प्रहरीले एक जना संस्थापक सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । लालबन्दी नगरपालिका–७, मा रहेको संस्थाका अध्यक्ष झगरुप्रसाद दास र प्रबन्धक रवीना रायमाझी गत पुस १६ गतेदेखि संस्था बन्द गरेर फरार छन् । आफूहरूको बचत रकमसहित दास र रायमाझी फरार भएपछि बचतकर्ताले इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएका छन् ।
सोही उजुरीका आधारमा अनुसन्धान गर्दैजाँदा प्रहरीले स्थापनाकालमा संस्थाको सञ्चालक समितिको सदस्य रहेका कौडेना गाउँपालिका –३ घर भई हाल लालबन्दी नगरपालिका –५ मा बस्ने ३७ वर्षीया सुनितादेवी दासलाई नियन्त्रणमा लिएको हो । सुनिता फरार रहेका संस्थाका अध्यक्ष झगरुकी श्रीमती हुन् ।
उनीविरुद्ध सहकारी ऐन अन्तर्गत ठगी र आपराधिक विश्वासघात मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिबोल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार उजुरी परेकामध्ये संस्थाका अध्यक्ष दास, प्रबन्धक रायमाझी र रायमाझीका श्रीमान् बुद्धिमान उप्रेती फरार छन् ।