राष्ट्रिय सभा निर्वाचनका लागी मतदान जारी, नतिजा आजै साझ आउने – Nepalboli

राष्ट्रिय सभा निर्वाचनका लागी मतदान जारी, नतिजा आजै साझ आउने

   ११ माघ २०८०, बिहीबार  

राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी छ ।

११ वजेसम्म ५० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी उनले दिएका छन । उनले भनेले, ‘‘एकदम शान्तिपूर्ण रुपमा मतदान कार्य सुचारु भई अगाडि बढेको छ । ५० प्रतिशतभन्दा बढी मत खसिसकेको छ । तर, मतदानका लागि दिउँसो ३ बजेसम्मको समय दिइएकोले मतदान कार्य बन्द हुँदैन ।’’

उहाँले त्यसपछि मुचुल्का गर्ने र यसको एक, डेढ घण्टापछि मतगणना सुरु हुने कार्यतालिका रहेको बताउनुभयो । उनले आज बेलुका ६–७ बजेसम्म नतिजा आइसक्ने आयोगले अपेक्षा आयोगले गरेको पनि जनाए ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६र६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।

यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ । कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै