शहीद सप्ताह सुुरु- शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गरियो आज
विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदहरुको सम्झनामा आज (बुधबार) बाट शहीद सप्ताह शुरु भएको छ। शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आजकै दिन (माघ १० गते) आफ्नो जीवन उत्सर्ग गरेका थिए। सोही दिनको स्मरण गर्दै टेकुस्थित शहीद शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै बुधबारदेखि शहीद सप्ताह सुरु गरिएको हो।
सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शास्त्रीको शालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन्। तत्कालीन राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएका थिए। यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मारिएको थियो।
७ दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ।
कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले शुक्रराज शास्त्री नेपाल भाषाको व्याकरणमा कमल चलाउने पहिलो व्यक्ति भएको बताइन्। शास्त्री राजनीतिक आन्दोलनसँगै साहित्यमा पनि रुची राख्ने व्यक्ति रहेको डंगोलले उल्लेख गरिन्।
साहित्यका विभिन्न विधामा बालसाहित्यलाई पनि अघि सार्नुपर्छ भनेर कलम चलाउने पहिलो व्यक्ति पनि शास्त्री नै रहेको डंगोलको दाबी छ। उपप्रमुख डंगोलले आफ्नो जीवन आफ्ना लागि मात्रै नभइ देशकै लागि समर्पण गर्न जान्नुपर्ने र देशका लागि योगदान दिनुपर्ने आवश्यकता रहेको बताइन्।
प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनहरुमा धेरै व्यक्तिहरुले सहादत प्राप्त गरेका छन्। उनीहरु सबैको योगदानलाई सप्ताहका कार्यक्रममा स्मरण गर्ने गरिन्छ।