गठबन्धन जोगाउन कांग्रेस प्रतिबद्ध छ – सभापति देउवा – Nepalboli

गठबन्धन जोगाउन कांग्रेस प्रतिबद्ध छ – सभापति देउवा

   १० माघ २०८०, बुधबार  

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई जोगाएर लामो समय लैजान आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । गठबन्धन अहिलेको आवश्यक्ता भएको भन्दै सभापति देउवाले यसलाई लामो समयसम्म लैजान कांग्रेस प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । काँग्रेस स्याङ्जाको जिल्ला सम्मेलनको सदरमुकाममा बुधबार उदघाटन गर्नुहुँदै सभापति देउवाले अहिले कुनै पार्टीको पनि बहुमत आउने अवस्था नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले समानुपातिक निर्वाचन व्यवस्था अङ्गालेका छौं, यो अवस्थामा एक दलको बहुमत आउन धेरै कठिन हुन्छ, त्यसैले गठनबन्धन अनिवार्य रहेको छ ।” पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले युवापुस्तालाई स्वदेशमा नै रोक्न जरुरी रहेको बताउनुभयो ।

स्वरोजगार लगायतका कार्य गरेर उनीहरुलाई यही रोक्नु पर्छ, उहाँले भन्नुभयो । नयाँ व्यवस्था आएसँगै देशमा विकासले गति लिएको भन्दै सभापति देउवाले यही शासन व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय महिला, जनजाती तथा पछाडि परेको समुदायलाई विशेष स्थान दिइएको भन्दै उनीहरुलाई अगाडि बढाउन समानुपातिक र समावेशी सिद्धान्त ल्याइएको उहाँको भनाइ छ ।

पहाडी जिल्लामा विकासको नीति बनाउन सुझाव दिनुहुँदै सभापति देउवाले जलस्रोत र स्थानीय स्रोत साधनको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । कांग्रेस कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै सभापति देउवाले कांग्रेसले सवैलाई मिलाएर लैजाने र देशको विकास गर्ने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै