कांग्रेसको अभियान माघ १३ देखि सुरु हुँदै – Nepalboli

कांग्रेसको अभियान माघ १३ देखि सुरु हुँदै

   २०८० माघ ९, मंगलवार  

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पहिलो चरणमा १३ दिन ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ। यस अभियानका क्रममा शीर्ष तहदेखि वडा तहसम्मलाई एक साथ परिचालन गर्ने योजना कांग्रेसले बनाएको छ।

कांग्रेसले यो अभियानका लागि पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय र उपसभापतिद्वयसहित सबै नेतालाई परिचालन गर्न लागेको हो। यस अभियानअन्तर्गतको पहिलो दिन आफू झापाको भद्रपुर नगरपालिका ५ मेचीपुल भन्सारमा पुग्ने महामन्त्री गगनकुमार थापाले बताएका छन्।

यसअघि कांग्रेसले यो अभियान १६ पुसदेखि १६ माघसम्म वडा तहसम्म चलाउने जनाएको थियो। तर पार्टीको महासमिति बैठक फागुनमा सरेसँगै यो अभियान पनि एक महिना धकेलिएको हो।

अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटिँदैछन्। गत साउनमा बसेको केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ सम्म ‘समुदायमा कांग्रेस’ अभियान गर्ने निर्णय गरेको थियो। तर पटक पटक स्थगित भइरहेको अवस्थामा यस पटक चाहिँ कांग्रेस नेताहरू गाउँ पस्ने पक्का भएको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै