तराई मधेशमा शीतलहरले जनजीवन कष्टकर
तीन सातादेखिको शीतलहरले तराई मधेशका बासिन्दाको जनजीवन कष्टकर बनाएको छ । बाक्लो हुस्सु र स्याँठले विशेष गरी ज्येष्ठ नागरिक, सुत्केरी र बालबालिका बढी प्रभावित भएका छन् । अस्पतालहरुमा विरामीका संख्याहरु ह्वातै वढेका छन । विद्यालयहरु चिसोकै कारण बन्द गरिएको छ भने अन्य सरकारी र गैरसरकारी काम पनि प्रभावित भएको छ ।
चिसोका कारण सार्वजनिक स्थलमा दाउरा बालेर सामूहिक रूपमा आगो ताप्ने दैनिकी बनेको छ । शिक्षण संस्था केही दिनका लागि बिदा दिइएको छ । कतिपय स्थानीय तहले टोल टोलमा दाउरा वितरण गरेका छन् भने आर्थिक रूपमा विपन्न बासिन्दाले स्थानीय तहसँग न्यानो लुगाको आशा गरेका छन् ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता मोहम्मद समिमले कम्बल खरिद गरेर शुक्रबार साँझ ल्याइसकिएको र तिनलाई गोदाममा राखिएको जानकारी दिँदै खरिद प्रक्रियाका कारण वितरणमा ढिलाइ भएको बताउनुभयो । मधेश प्रदेश सरकारले पुस २३ गते शीतलहरबाट प्रभावित २० हजार विपन्न परिवारलाई कम्बल वितरण गर्ने घोषणा गरे पनि अझैसम्म कम्बल वितरण भइसकेको छैन ।
जाडोले सडक, बजार र सार्वजनिक स्थलमा आवागमन घटेको छ । चिसो बढेको र घाम नदेखिनाले तापक्रम निकै घटेको छ । सरकारी कार्यालयमा सेवाग्राही पातलिएका छन् । सर्वसाधारण काम गर्न नसकेर सडक छेउछाउ घुर तापेर समय कटाइरहेका देखिन्छन् । बाक्लो हुस्सुले अपराह्नसम्म पनि ‘भिजिबिलिटी’ कम हुँदा राजमार्ग क्षेत्रमा हेडलाइट बालेर सवारीसाधन गुड्ने गरेका छन् । बढ्दै गएको जाडोको प्रभाव शिक्षा, स्वास्थ्य, भातभान्सा र कृषि क्षेत्रमा देखिन थालेको छ ।
मधेश प्रदेश स्वास्थ्य निर्देशक डा राजीव झाका अनुसार लम्बिँदै गएको शीतलहरका कारण कोल्ड डाइरिया, भाइरल ज्वरो, क्रोनिक कफ, रुघाखोकी, श्वासप्रश्वास, हाडजोर्नी जस्ता बिरामी बढ्न थालेका छन् ।
चिसो बढेसँगै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित कोशी अस्पताल, नोबेल मेडिकल कलेज, विराट नर्सिङ होमलगायत स्थानीय अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप पनि बढेको छ । चिसोका कारण निमोनिया, कोल्ड डाइरिया, रुघाखोकी, ज्वरोका बिरामी बढेका तथा दम, पक्षाघात रोगबाट वृद्धवृद्धा बढी प्रभावित भएको पूर्वाञ्चल विश्वविद्यालय अस्पतालका निर्देशक डा शशी शर्मा रिजालले बताउनुभयो ।