संसदीय समितिले बोलायो स्वास्थ्यमन्त्री, मन्त्रालयको प्रगति विवरण पनि माग – Nepalboli

संसदीय समितिले बोलायो स्वास्थ्यमन्त्री, मन्त्रालयको प्रगति विवरण पनि माग

   २०८० माघ ८, सोमबार  

संसदीय समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग छलफल गर्ने भएको छ। सोमबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य मन्त्रालयको चालू आर्थिक वर्षको प्रगति विवरणबारे स्वास्थ्यमन्त्री बस्नेतसँग छलफल गर्ने निर्णय गरेको हो।

सोमबार बोलाइएको बैठकमा मन्त्रालयका गतिविधिबारे मन्त्रालयका अधिकारीहरुले दिएको प्रस्तुति चित्तबुझ्दो नभएपछि त्यसबारे विस्तृत छलफल गर्न स्वास्थ्यमन्त्री बस्नेतलाई नै बोलाउने निर्णय गरिएको पनि समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए।

त्यसैगरी बैठकले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण लिखित रुपमा समितिमा बुझाउन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।

सभापति जोशीले भने, ‘हामीले एउटा कुरा त मन्त्रीज्यूलाई ल्याएर पूर्ण बैठक बस्नका लागि तयारी गर्ने भन्ने विषयमा सहमती गर्‍यौं। दोस्रो भनेको अहिलेसम्म भएको कामको प्रगतिहरुको बारेमा लिखित ढंगले प्रतिवेदन पठाउनका लागि निर्देशन दिने भन्यौं। तेस्रो भनेको स्वास्थ्यसँग आबद्ध भएको स्वायत्त निकायहरु खासगरी बीमा बोर्ड राष्ट्रिय चिकित्सा शिक्षा आयोग लगायतका निकायहरुसँग पनि छुट्टाछुट्टै हामीले बैठक गर्ने भन्ने तेस्रो निर्णय गर्‍यौं।’

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै