भारतको अयोध्याको राममन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न, खुसीयालीमा जनकपुरमा दीप-उत्सब

भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो १२ बजेर २९ मिनेटको साइतमा मुख्य पूजा सुरू गरेका थिए । प्राण प्रतिष्ठाका बेला प्रधानमन्त्री मोदीले रामको मूर्तिमा फूल र वस्त्र अर्पण गरेका थिए । मोदी प्राण प्रतिष्ठाका मुख्य यजमान थिए ।
उक्त अवसरमा गर्भगृहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, राष्ट्रिय स्वयम्सेवक सङ्घका प्रमुख मोहन भागवत्लगायत उपस्थित रहेका थिए ।
प्राण प्रतिष्ठाका बेला भारतीय वायुसेनाको हेलिकोप्टरबाट मन्दिरमा पुष्प वर्षा गरिएको थियो । कार्यक्रमका लागि भारतका सयौं नामी हस्तीहरूलाई आमन्त्रण गरिएको थियो । मन्दिर परिसरमा हजारौं भक्तजन भेला भएका छन् ।
सोनू निगम, अनुराधा पौड्याल, शंकर महादेवनजस्ता गायक-गायिकाले कार्यक्रममा भजन गाएका छन् ।
कर्नाटकको पत्थरबाट रामको मुख्य मूर्ति निर्माण गरिएको हो । यो मूर्ति अरुण योगीराज नामका व्यक्तिले बनाएका हुन् । मन्दिरको जग एकहजार वर्षसम्म केही नहुने गरी तयार पारिएको छ । ६ हजार मानिसले एकैपटक जुत्ता, चप्पल र मोबाइल बाहिर राखेर रामको दर्शन गर्न मिल्नेगरी मन्दिर परिसरमा केन्द्र तयार पारिएको बताइएको छ ।
खुसीयालीमा जनकपुरमा दीप उत्साह
भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुमा उल्लास छाएको छ। जनकपुरका विभिन्न मठमन्दिरमा भजनकीर्तन, पाठ हुनुका साथै रामधुन बजाइँदैछ। जनकपुरभर मन्दिर, सडकपेटी लगायतका ठाउँ ठाउँमा जय श्रीराम लेखिएको झण्डा झुण्ड्याइएको छ।
जानकी मन्दिर परिसर फूल मालाले सजाइएको छ। आज बेलुकी ५ बजे मन्दिरमा सवा लाख दीप प्रज्वलनका लागि दियो ठीक पारिएको छ। मन्दिर परिसरमा फूलले जय श्रीराम, धनुष र रामको चित्र कोरिएको छ। प्राण प्रतिष्ठाकै अवसरमा जनकपुरमा नगर शोभा यात्रा निकालिइएको छ।
जानकी मन्दिरबाट निस्किने शोभा यात्रा विभिन्न चोक परिक्रमा गरी पुनः मन्दिरमा पुगेर विश्राम गर्नेछ। दिपोत्सव सम्पन्न भएपछि बेलुकी ६ बजे मन्दिर परिसरमै महागंगा आरतीको आयोजना गरिनेछ।
गंगा सागर पोखरीमा सधैं हुने यो आरती आज विशेष दिन भएकाले जानकी मन्दिरमा हुन लागेको मन्दिरका पुजारी ऋषिकेश झाले बताए।
प्राण प्रतिष्ठाको अवसरमा धनुषा र महोत्तरीलगायत विभिन्न जिल्लाका स्थानीय तहले सार्वजनिक बिदा समेत दिएको छ। जनकपुरधाम उपमहानगरले नगरमा आज मासु र मदिराको बिक्री वितरणमा रोक लगाएको छ।