सभामुखद्धारा एनजीओको सहयोग नलिन संसदीय समितिका सभापतिहरुलाई निर्देशन – Nepalboli

सभामुखद्धारा एनजीओको सहयोग नलिन संसदीय समितिका सभापतिहरुलाई निर्देशन

   २०८० माघ ७, आईतवार  

सभामुख देवराज घिमिरेले गैरसरकारी संस्था (एनजीओ) को सहयोग आफूखुशी नलिन संसदीय समितिका सभापतिहरुलाई निर्देशन दिएका छन् । आइतबार सभामुख घिमिरेले प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुसँग छलफल गरेका थिए । छलफलमा उनले एनजीओहरुले संसदीय समितिमा हस्तक्षेप गरेको विषय आफूले सुनेको कुरा उठाए । ‘एनजीओलाई तपाईंहरु नल्याउनुस्’, उनले निर्देशन दिए, ‘सहयोग लिनै परे संसद सचिवालय मार्फत आउने वान डोर सिस्टममा जानुपर्छ ।’

संसद सचिवालयका अधिकारीहरुका अनुसार विभिन्न गैर सरकारी संस्थाहरुले आफूखुसी संसदीय विषयगत समितिसँग साझेदारी गर्ने र संसदभित्र र बाहिर विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।

सभामुख घिमिरेले एनजीओको खर्चमा विदेश जाने प्रवृत्ति त्याग्न पनि समिति सभापतिहरुलाई आग्रह गरे ।

‘संसदलाई जानकारी हुन्न को सांसद कहाँ छन् ? एनजीओमार्फत सभामुखलाई थाहै नदिइकन विदेश गइरहेका हुन्छन् । त्यो पनि नगर्नुहोस्’, सभामुख घिमिरेले भने ।

सभापतिहरुसँग सभामुख घिमिरेले प्रश्न गरे, ‘कतिपय वैदेशिक भ्रमण गइसकेपछि, काम सकिएपछि जानकारी गराउने अभ्यास छ । यो राम्रो भएन । जान हुने कि नहुने ? केही पूर्वजानकारी वा छलफल छैन । समय घर्किसकेपछि जानकारी गराउनुको के अर्थ ?’

छलफलमा कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, कृषि समितीकी सभापति आरजु राणा देउवा, अर्थ समितिका सभापति सन्तोष चालिसे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी उपस्थित थिए । छलफलपछि उनीहरुले गैरसरकारी संस्थाको सहयोगलाई एकद्वार गर्नुपर्ने सभामुखको प्रस्तावमा समर्थन जनाए ।

सभामुख घिमिरेले छलफलपछि पत्रकारहरुसँग भने, ‘विभिन्न दातृ संस्थाहरुबाट सहयोगहरु प्राप्त हुन्छ भनिएका कुराहरुलाई एकीकृत ढंगबाट समितिहरुलाई चाहिने सहयोग संसद सचिवालयमार्फत नै लिनु राम्रो हुन्छ भन्ने सुझाव आएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै