पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझायो अध्ययन प्रतिवेदन – Nepalboli

पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझायो अध्ययन प्रतिवेदन

   २०८० माघ ७, आईतवार  

पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले आइतबार विश्वविद्यालय सम्बन्धी अध्ययन प्रतिवेदन बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटेर समितिले पशुपति हिन्दु विश्वविद्यालय स्थापना अध्ययन प्रतिवेदन बुझाएको हो । समितिको प्रतिवेदन बुझेपछि मन्त्री किरातीले गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको जग्गामा पशुपति विश्विविद्यालय बनाउन सकिने बताए । हिन्दु विश्वविद्यालय नेपालको आवश्यकता भएको उनको भनाइ छ ।

‘गोठाटारको जग्गामा पशुपति हिन्दु विश्वविद्यालय स्थापना हुन्छ, त्यसकालागि तत्काल अनुमति दिने प्रक्रिया अघि बढाउँछौँ । तर यतिले मात्रै काम अधुरो हुन्छ, उनले भने, यसलाई पूर्ण तयारी र सञ्चालनसम्म पुर्‍याउन पनि एउटा सानो टिम आवश्यक हुन्छ । यहाँ बोल्दा पनि संयमित हुनुपर्ने अवस्था छ, मान्छेहरु कुरा घुमाएर द्वन्द्व गराउन चाहन्छन्, शान्ति चाहँदैनन् ।

मन्त्री किरातीले सरकारले भाषाको म्युजियम बनाउने विषयमा समेत छिट्टै अध्ययन समिति बनाउन लागेको बताए ।

प्रतिवेदन बुझाउँदै पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिका सदस्य सचिव घनश्याम खतिवडाले ट्रस्टी मोडलमा विश्वविद्यालय बनाउने निष्कर्षमा पुगेको बताए । उनले नेपालमा प्रचलित शास्त्रीय संस्कार, संस्कृति र दर्शनका साथै नेपालका विभिन्न जातजातिमा प्रचलित धर्म, दर्शन र लोकसंस्कृतिको अध्ययन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर विश्वविद्यालय स्थापना गर्न लागिएको बताए ।

नेपालको जनजीवन र माटोलाई चिनेको दक्ष एवं स्वावलम्वी जनशक्तिको उत्पादन गर्नु नै विश्वविद्यालयको लक्ष्य रहेको उनको भनाइ छ । ‘ट्रस्टी मोडलमा विश्वविद्यालय बनाउने सोच यो समितिले तय गरेको छ । नेपालमा प्रचलित शास्त्रीय संस्कार, संस्कृति र दर्शनका साथै नेपालका विभिन्न जातजातिमा प्रचलित धर्म, दर्शन र लोकसंस्कृतिको अध्ययन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर स्थापना गरिने यस विश्वविद्यालयको नेपालमुखी अध्ययन हो । नेपालको जनजीवन र माटोलाई चिनेको दक्ष एवं स्वावलम्वी जनशक्तिको उत्पादन हो, उनले भने ।

समितिका संयोजक जगमान गुरुङले विश्वविद्यालयका लागि जग्गाको कित्ताकाट भए काम अघि बढाउन सहज हुने बताए । उनले कानूनको मस्यौदा आएपछि र विभिन्न विज्ञहरुले सुझाव दिएसँगै विश्वविद्यालय स्थापनालाई टुंगोमा पुर्‍याइने बताए ।

सो समितिमा प्राध्यापक रामचन्द्र गौतम, प्राध्यापक चेतोनाथ गौतम, कमल ढकाल र प्राध्यापक प्रेमकुमार खत्री सदस्य थिए ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै