संसद्को हिउँदे अधिवेशनका लागी विधेयकहरुको प्राथमिकतामा जुटे कानुन मन्त्रालय – Nepalboli

संसद्को हिउँदे अधिवेशनका लागी विधेयकहरुको प्राथमिकतामा जुटे कानुन मन्त्रालय

   २०८० माघ ६, शनिबार  

माघको तेस्रो हप्ता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी सरकारले गरिह्दा कानुन मन्त्रालयले संसदमा पेस गर्ने विधेयकहरु वारेमा गृहकार्य थालेको छ । त्यसका लागी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद्को आसन्न हिउँदे अधिवेशनमा पेस गर्ने विधेयकको प्रारम्भिक प्राथमिकता सूची तय गर्न लागेका छन । प्राथमिकता सूची उपलब्ध गराउन कानुन मन्त्रालयले अन्य मन्त्रालयलाई गरेको पत्राचार अनुसार सङ्घीयता र संविधान कार्यान्वयनसँग सम्बन्धित १०९ कानुन बन्नुपर्ने सूची बनेको छ ।

जसमध्ये ३० भन्दा बढी विधेयक प्राथकितामा राखेर अगाडि बढाउने तयारी मन्त्रालयले गरेको छ तर सम्बन्धित मन्त्रालयबाट प्राप्त सूचीमा आइतबारदेखि हुने छलफलले विधेयकको प्राथमिकता र सङ्ख्या निर्धारण गर्ने छ ।

प्रारम्भिक रूपमा १०९ वटा कानुन निर्माणको सूची बनेको छ भने सम्बन्धित मन्त्रालयसँगको परामर्शपछि सङ्ख्या घटबढ हुन सक्ने बताइएको छ । सम्बन्धित मन्त्रालयसँगको छलफलपछि पहिलो, दोस्रो र तेस्रो चरणमा संसद्मा पठाउने विधेयकको अन्तिम सूची टुङ्गो लाग्ने छ । मन्त्रालयले आउँदो सातासम्म त्यस्तो सूची सङ्घीय संसद्लाई पनि उपलब्ध गराउने तयारी गरेको छ ।

कानुन मन्त्रालयको पत्राचार अनुसार २२ मन्त्रालयले कानुन निर्माणका आवश्यक विषय समेटेर जानकारी पठाएका छन् । खानेपानी मन्त्रालय र परराष्ट्र मन्त्रालयले भने प्राथमिकता सूची पठाएका छैनन् । प्रारम्भिक चरणमा नयाँ र संशोधन विधेयक गरेर १०९ वटा विधेयक तयार हुने देखिन्छ ।

कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले मन्त्रालयबाट प्राप्त विधेयकलाई प्राथमिकता निर्धारण गर्ने काम भइरहेको बताए । उनले सम्बन्धित मन्त्रालयसँग छलफलपछि प्राथमिकता र सङ्ख्याको पनि अन्तिम टुङ्गो लाग्ने बताउनुभयो । उनले भने, “नयाँ र संशोधन विधेयक गरेर १०९ वटा सूची बनेका छन् । हामीले पहिलो, दोस्रो र तेस्रोमा प्राथमिकता निर्धारण गरेका छौँ । अब मन्त्रालयहरूसँग चरणबद्ध छलफलको तालिका बनाएका छौँ । यसबाट हामी प्राथमिकताका विषय र सङ्ख्या यकिन गर्छौं । अहिलेको प्रारम्भिक सङ्ख्या थपघट हुन सक्छ ।”

मन्त्रालयले आइतबारदेखि प्राथमिकता टुङ्गो लगाउन छलफल गर्दै छ । आइतबार कृषि, शिक्षा, गृह, सञ्चार र उद्योग गरी पाँच मन्त्रालयसँग छलफल गर्दै छ । यस्तै सोमबार संस्कृति, पर्यटन, श्रम तथा रोजगार र अर्थ मन्त्रालयलगायतसँग छलफलको तालिका बनाएको छ । चरणबद्ध रूपमा तीन दिनमा छलफल गर्ने मन्त्रालयको कार्यसूची छ ।

सङ्घीयता कार्यान्वयन, सरकारको नीति कार्यान्वयनका विषयका कानुनको प्राथमिकता सूची निर्धारण गरी मस्यौदा सहमतिका लागि पठाउन मङ्सिर १९ गते कानुन मन्त्रालयले पत्राचार गरेको थियो ।

मौजुदा ऐन संशोधनको आवश्यकता, अदालतबाट भएका फैसला कार्यान्वयन, सरकारले लिएको नीति र घोषणाको कार्यान्वयन, संसदीय समितिबाट भएका निर्देशनको कार्यान्वयनलगायतका मापदण्डका आधारमा मन्त्रालयले बनाउनुपर्ने कानुनको सूची तय गरेका हुन् ।

यस्तै सङ्घीयता कार्यान्वयनसम्बन्धी राष्ट्रिय सभाको अध्ययन प्रतिवेदन र सरकारले गरिरहेको संविधानको कार्य विस्तृतीकरणलाई समेत आधार बनाएर तर्जुमा गर्नुपर्ने विधेयकका विषय र सूची मन्त्रालयले बनाएका हुन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै