गाउँ रितिदै, मलामी पाउन समेत मुस्किल
फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो। डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन। छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन। सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा कुरा भयो। सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो।
शनिबार यही पीडा वरिपरि बसेकालाई सुनाउँदै थिइन् उनी। उनको पीडा सुनेर एकछिन माहोल नै चिसियो। सबै जना आश्चर्यचकित भावमा देखिए। ‘हाम्रा लागि परदेशिएकाहरूको कथा सुन्नु, सुनाउनु, टोलाउनु, आँसु चुहाउनु नियति नै हो। लेखान्तमा जे लेखियो, त्यहीँ भोग्नुपर्दो रहेछ,’ उनले भनिन्।
पारु दुई नातिसँगै बझाङको छविसपाथीभेरा गाउँपालिका–१ परिङालमा रहेको आफ्नै घरमा बस्छिन्। नातिद्वय जीवन र सक्षम गाउँकै भैरव आधारभूत विद्यालयमा पढ्छन्। छोरा तथा बुहारी भारतको बैङलोरमा मजदुरी गरिरहेका छन्। उनीहरुले पठाएको पैसाले घर खर्च चलाउनु परेको पारुले सुनाइन्।
यस्तो पीडा र अवस्था सबै परिङालबासीको उस्तै छ। ‘आँगनमा काग कराएको दिन पनि अशुभ खबर सुनिन्छ कि भन्ने पीर पर्छ,’ स्थानीय चन्द्रा गिरीले भनिन्, ‘परदेशिएकाहरुलाई केही नहोस् भनेर दियो बालिरहन्छौँ। भगवानको आराधना गरिरहन्छौँ। चिन्ता बैङलोरकै हुन्छ।’ परिवारका सदस्यसँगै बस्न र घरमै हुन त भाग्यमै लेखेको हुनुपर्ने उनले बताइन्।
चन्द्रका अनुसार परिङालमा ८० परिवार छन्। झन्डै चार सय जनसङ्ख्या भएको गाउँ हिजोआज भने सुनसान जस्तै छ। काम गर्न सक्ने जनशक्ति सबै भारतमा गएपछि बालबालिका र वृद्धवृद्धाले जेनतेन गाउँ धानेका छन्। ‘प्राकृतिक विपदबाट अहिले ३० परिवारले गाउँ नै छोडिसकेका छन्,’ उनले भनिन्, ‘कतिपयले भारतमा सङ्घर्ष गर्दै तराईतिर जग्गा जमिन जोडिसके। कतिले भारतमै आधार कार्ड पाएर परिवारलाई उतै व्यवस्थापन गर्ने तयारी गरिरहेका छन्।’
उनका अनुसार परिङालबासी भोको पेट भर्नकै लागि विभिन्न ठाउँमा गएर सङ्घर्ष गरिरहेका छन्। ‘घरमा बालबालिका तथा वृद्धवृद्धा भएर घरहरू खुला देखिए पनि गर्न सक्ने मान्छे कोही छैन,‘ उनले भनिन्। उनका अनुसार उहिले कोही पनि भारत जाँदैनथे। ‘गाउँमै खेतीपाती गरेर सबैको गुजारा हुन्थ्यो। अहिले जग्गाजमिन बाढीले निल्यो, घर भूकम्पले निल्यो। त्यसपछि गाउँ नै चौपट भयो,‘ चन्द्राले सुनाइन्।
उनको घरमा ९ जना सदस्य छन्। गाउँमा भने अहिले चार जना मात्रै छन्। ‘छोराछोरीको स्याहार गर्ने मान्छे नहुनाले आफैँले गाउँमा बस्नुपरेको हो। नत्र मेरो उमेरका महिलारपुरुष कोही गाउँमा बस्दैनन्। सबै बैङलोरमा गएर कमाउँछन्,’ उनले भनिन्।
परिङालकै लक्ष्मी गिरीको परिवारमा १३ जना छन्। आफूले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) खाने र तीन बालबालिका गाउँमै पढ्ने हुँदा घर बस्नुपरेको उनले सुनाइन्। ‘भारतमा जति मजदुरी काम गरे पनि पैसा देखिँदैन,’ उनले भनिन्, ‘सबै कमाउने उतै छन्। उनीहरुले कमाएको पनि खानलाई बराबर हुन्छ।’
पेट पाल्नकै लागि विदेश जानेको सङ्ख्या बढेपछि गाउँ रित्तिन थालेको छ। सामाजिक काम तथा ठूलो काम गर्न गाउँमा मान्छे नै नभएको उनले बताइन्। भनिन्, ‘अहिले गाउँ पूरै रित्तिन लागि सक्यो। गह्रौँ काम गर्ने मान्छे अहिले गाउँमै छैनन्। यतिसम्म कि मान्छे मर्दासमेत मलामी नपाइने अवस्था आइसक्यो, ‘उनले भनिन्।
गत असोजको भूकम्पपछि गाउँमा १५ परिवार घरमा तालाबान्दी गरेर भारत गइसकेका छन्। अन्य परिवारमा पनि अधिकांश सदस्य भारतमै गएको लक्ष्मीले बताइन्। ‘हरेक दशैंमा हरेक परिवारले परदेशिएकाहरुको बाटो कुर्नुपर्छ। कति परिवारले त दुई–तीन वर्षपछि मात्रै भेट्न, सुखी साट्न पाउँछन्,’ उनले भनिन्।
विसं २०५७ मा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो। आफूलाई पर्याप्त भएर अन्न बेच्ने परिङालबासीलाई दुई दशकयता भने सङ्कटै सङ्कटले झेलिरहेको छ। दुई वर्षअघि २०७८ असोज ३० देखि कात्तिक ३ गतेसम्म आएको बाढीले बचेको सबै जिउलो बगायो।
आँगनमा भएको जिउलो मात्रै नभई छिमेकी बगरगाउँमा भएको जिउलोको समेत नामोनिसान मेटाइदियो। गत असोजको भूकम्पले फेरि घरहरू नोक्सान गरेपछि युवाहरु बैङ्लोर जानुको विकल्प नभएको जनाउँदै परदेशिए।
स्थानीय प्रमानन्द गिरीका अनुसार परिङालको ८५ प्रतिशत जनसङ्ख्या भारतमा छ। गाउँमा बालबालिका र वृद्धवृद्धाको आश्रम जस्तै छ। ‘बालबालिकालाई भारतमा पढाउन महँगो पर्ने हुँदा सबैले गाउँमै राखेका छन्। वृद्धवृद्धा पनि बैङलोरमा कमाउन नसक्ने र गाउँमा सामाजिक सुरक्षा भत्ता पाउने हुँदा घरमा बस्नुपरेको हो। भत्ता नपाए पनि काम गर्न नसक्नेको बैङलोरमा पनि काम छैन,’ उनले भने।
भूकम्पले क्षति भएका परिवारका लागि रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अस्थायी संरचना बनाइदिएको छ। ‘जनता असुरक्षित नहोउन् भन्दै हामीले सबै निकायसँग समन्वय गरिरहेका छौँ,’ फियान नेपालकी फिल्ड अधिकृत सीता सिंहले भनिन्, ‘बाढी तथा भूकम्पपीडितलाई राहत दिन होस् वा नदी कटानलाई नियन्त्रण गर्न होस्। हामी सबै निकायसँग समन्वय गरिरहेका हुन्छौँ।’
रेडक्रसले बनाइदिएका अस्थायी टहरा र बगरगाउँमा करोडभन्दा बढी मूल्यको ग्याबिन लगाउने काम भइरहेको उनले बताइन्। छविसपाथीभेरा गाउँपालिका–१ का वडाध्यक्ष करनजङ्गबहादुर सिंह पनि गरिबमाथि नै पटकपटक विपद् आएकामा चिन्ता गर्छन्। उनी भन्छन्, ‘सुगाला र परिङालका पीडितलाई प्रकृतिले पनि कहिल्यै सुख नदिने भयो। कहिले बाढी त कहिले भूकम्पले उठीबास गर्न थालेको छ।’