मन्त्रिपरिषद पुनर्गठन, फेरिएका एकीकृत समाजवादीका मन्त्रीहरुको सपथ आइतबार – Nepalboli

मन्त्रिपरिषद पुनर्गठन, फेरिएका एकीकृत समाजवादीका मन्त्रीहरुको सपथ आइतबार

   १२ असार २०७९, आईतवार  

मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गर्दै नयाँ बन्ने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो । तर संसदमा आगामी आर्थिक वर्ष ०७९र८० को बजेटमाथि छलफल चलिरहेकाले २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो । यसैबीच आजै सहरी विकास मन्त्री रामकुमारी झाँक्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

नयाँ मन्त्रीहरुको सपथ भोलि
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका मन्त्रीहरुले आजै पदबाट राजीनामा दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै