वैदेशिक रोजगारीको नाममा दश करोड ठगी गर्ने ट्रेनिङ सेन्टरका सञ्चालक पक्राउ – Nepalboli

वैदेशिक रोजगारीको नाममा दश करोड ठगी गर्ने ट्रेनिङ सेन्टरका सञ्चालक पक्राउ

   २०८० पुष १७, मंगलवार  

वैदेशिक रोजगारीमा पठाउने भनी दश करोडभन्दा बढी रकम ठगी गर्ने ‘एसइइ स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार ललितपुरको केन्जोसोम गाउँपालिका वडा नं १ का ४७ वर्षीय लामाले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा समेतलाई विभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुरमा आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी बेरोजगार युवाबाट पाँच लाखदेखि १५ लाख रुपियाँसम्म लिने गरेका थिए ।

उनले वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिङ्गापुर पुगेपछि विमानस्थलबाट नेपाल फर्काएको भन्दै पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएको प्रहरीले जनाएको छ । ट्रेनिङ सेन्टरबाट ९९७ राहदानी बरामद गरिएको र थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, कुवेत पठाउने भनी दुई लाख रुपियाँ लिई सम्पर्कविहीन बनेका स्थायी घर तेह्रथुम भइ हाल काठमाडौं बस्ने ४३ वर्षीय जुनु तुम्बाहाङ्फेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले कुवेतमा जान प्रतिव्यक्ति ५ लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक एक लाख रुपियाँ तलब हुन्छ भनी रस्मिता भुलोनबाट पटकपटक गरी दुई लाख रुपियाँ लिएका थिए ।

तुम्बाहाङ्फेलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै