प्रधानमन्त्रीलाई पौडेलको आग्रह-त्रिविमा मौलाएको अनियमितता र बेथिति रोक्नुस
कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देशकै पूरानो त्रिभुवन विश्वविद्यालयमा मौलाएको अनियमितता र बेथिति रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सार्वजनिक अपिल गरेका छन् ।
मंगलबार सामाजिक सन्जालमार्फत सार्वजनिक अपिल गर्दै नेता पौडेलले त्रिविमा भीसी नियुक्ति गर्नुभन्दा अघि विज्ञापन गर्न र राजनीतिक रुपमा नभई योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट भीसी नियुक्त गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीज्यू, मेरो आग्रह छ, लाखौं विद्यार्थीको भविष्य जोडिएको उच्च शिक्षा अध्ययनको थलो त्रिभुवन विश्वविद्यालयमा भीसी नियुक्तिका विषयमा सार्वजनिक विज्ञापन आह्वान गर्नुहोस्, आवेदन परेकाहरूमध्येबाट खुला र पारदर्शी रुपमा नियुक्ति गर्नुस्, सांसद पौडेलले अघि भनेका छन्, नियुक्ति राजनीतिक रङको आधारमा होइन, कसैको दबाब र प्रभावमा नपरी योग्यता, क्षमता र योजनाका आधारमा गर्नुस् ।
नेता पौडेलले विश्वका उत्कृष्ट विश्वविद्यालयको सूचीमा समेत स्थान बनाइसकेको त्रिवि अहिले राजनीतिक हस्तक्षेप, अनियमितता र बेथितिकै कारण धराशयी बनेको दाबी गरेका छन् ।
ुअहिले त्रिवि आफैंले बनाएको क्यालेन्डरमा समेत हिँड्न नसक्ने अवस्थामा पुगेको छ । शिक्षक र कर्मचारी नियुक्तिदेखि परीक्षा तालिका लगायतका सबै क्षेत्रमा अत्यन्तै ठूलो अनियमितता र बेथिति मौलाएको छ, पौडेलले भनेका छन् ।