दसैँको सातौँ दिन – शक्तिपिठहरुमा दर्शनार्थिको घुइँचो – Nepalboli

दसैँको सातौँ दिन – शक्तिपिठहरुमा दर्शनार्थिको घुइँचो

   २०८० कार्तिक ४, शनिबार  

आज दसैँको सातौँ दिन काठमाडौँ सहित देशभरीका विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ। घटस्थापना गरेसँगै नवदुर्गाका नौ रूपको पूजा गर्ने गरिन्छ।

उपत्यकाको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहित दुर्गाका शक्तिपीठमा पूजा आराधना गर्ने गरिन्छ। मैतीदेवी, भद्रकाली मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

आज फूलपाती भित्र्याइँदै
नवरात्रिको सातौँ दिन (शनिबार) दुर्गापीठ, दसैँघर, कोत तथा घर घरमा फूलपाती भित्र्याइँदै छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ ।

हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पन्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ । पृथ्वीनारायण शाहले काठमाडौँ राज्यमाथि विजय प्राप्त गरेदेखि नै यो परम्परा छ । यसै दिन रात्रिमा कालरात्रि देवीको पूजा गरिन्छ । यिनै देवीले रक्तबिज नामक दैत्यको संहार गर्नुभएको किंवदन्ती छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै