श्रेणी घटुवामा जादै राष्ट्रिय मानवअधिकार आयोग
राष्ट्रिय मानवअधिकार आयोगमा भएको असंवैधानिक पदाधिकारीको नियुक्ति बदर नभए एक हप्तामा यसको स्तर घटुवा हुने निश्चित देखिएको छ । राष्ट्रिय मानवअधिकार आयोगहरूको संस्था ग्लोबल एलायन्स अफ नेसनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी) को एक सातापछि बस्ने बैठकले आयोगको ‘क’ श्रेणीलाई ‘ख’ मा घटुवा गर्ने लगभग पक्का छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेर र असंवैधानिक तवरबाट संवैधानिक परिषद्लाई अध्यादेशमार्फत संशोधन गरेर आफूअनुकूल गणपूरक संख्या कायम गरी आयोगलगायत १३ संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगहरूका लागि मार्ग निर्देशक मानिने संयुक्त राष्ट्रसंघको पेरिस सिद्धान्तले नियुक्ति प्रक्रिया असंवैधानिक छ भने त्यस्तो देशका आयोगको श्रेणीलाई दोस्रो दर्जा दिने अर्थात् ‘ख’ वर्गमा राख्ने व्यवस्था छ ।
नेपालको आयोगमा असंवैधानिक तवरबाट पदाधिकारी नियुक्त भएको उजुरी परेपछि गानरीले यसबारे छानबिन समिति गठन गरेको थियो । समितिले सच्चिने एक वर्षको अवधि राख्दै यही अवस्था रहिरहे आयोगको श्रेणी घटुवा गर्नु भनी सिफारिस गरेको थियो ।
अर्को साता बस्ने गानरीको बैठकले यसलाई अनुमोदन गर्ने एजेन्डा रहेको छ । यो बैठक बस्नुअघि गानरीले आयोगको कामकारबाही, नियुक्ति प्रक्रिया र यसलाई घटुवा गर्न परेको उजुरीबारे आयोगको धारणालगायतका सवाल सोधेको थियो ।