इनम प्रकरणमा विश्वप्रकाशको प्रश्नः ‘षड्यन्त्रका पत्र खुल्दैछन्, अब पर्दा पूरै च्यातिनुपर्छ’ – Nepalboli

इनम प्रकरणमा विश्वप्रकाशको प्रश्नः ‘षड्यन्त्रका पत्र खुल्दैछन्, अब पर्दा पूरै च्यातिनुपर्छ’

   २०८३ मंसिर १३, शनिबार  

काठमाडौँ— नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा उठेका गम्भीर आरोपबारे प्रधानमन्त्रीसँग वास्तविकता सार्वजनिक गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले राष्ट्रिय मानव अधिकार आयोगमा सापकोटाकी श्रीमती कविता पाण्डेले दिएको उजुरीमा उल्लेखित आरोपबारे सरकार स्पष्ट हुनुपर्ने बताएका हुन् ।

उजुरीमा कांग्रेस सभापति गगन थापालगायत विभिन्न व्यक्तिविरुद्ध बयान दिए छाडिदिने र बयान नदिए फसाइदिने भन्दै दबाब दिइएको दाबी गरिएको विषयलाई शर्माले गम्भीर प्रश्नका रूपमा उठाएका छन् ।

उनले आयोगमा परेको उजुरी झुटो हो वा राज्यकै आडमा एकपछि अर्को अपराधका योजना बनिरहेका छन् भन्नेबारे प्रधानमन्त्रीले नागरिकलाई जवाफ दिनुपर्ने बताएका छन् ।

शर्माले पारदर्शितालाई लोकतन्त्रको आधारभूत खम्बा भन्दै इनम प्रकरणलाई ‘सस्पेन्स थ्रिलर’का रूपमा हेर्न नहुने धारणा राखेका छन् । घटनासँग जोडिएका सम्पूर्ण तथ्य र सत्य जान्न पाउने नागरिकको अधिकार सुरक्षित हुनुपर्ने उनको भनाइ छ ।

उनले प्रकरणका विभिन्न तह क्रमशः खुल्दै गएको दाबी गर्दै अब घटनामाथिको पर्दा पूर्ण रूपमा हटाउनुपर्ने बताएका छन् ।

‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पुरै च्यातिनुपर्छ,’ शर्माले भनेका छन् ।

प्रकरणमा लगाइएका आरोप सही वा गलत जे भए पनि निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि संसद्ले समेत अग्रसरता लिनुपर्ने बताएका छन् ।

यसअघि इनम सापकोटाले कांग्रेस सभापति गगन थापालगायत शीर्ष नेता, व्यवसायी तथा पूर्वप्रधानन्यायाधीशविरुद्ध बयान दिन दबाब दिइएको र त्यसका लागि शारीरिक तथा मानसिक यातना दिइएको दाबी गरेका थिए ।  आफू र परिवारको जीवनरक्षाको माग गर्दै सापकोटाले पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै