मूल्यवृद्धिको कारण खोज्न सरकारद्वारा अध्ययन समिति गठन
काठमाडौं— दैनिक उपभोग्य वस्तुको मूल्य लगातार बढिरहेको गुनासोबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मूल्यवृद्धिको कारण पहिचान गर्न अध्ययन समिति गठन गरेको छ ।
मूल्यवृद्धि नियन्त्रणसँगै बजारमा सहज आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले सहसचिव नामराज घिमिरेको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समिति गठन गरेको हो ।
मन्त्रालयका सचिव रुद्रसिंह तामाङले मन्त्रीस्तरीय निर्णयबाट समिति गठन गरिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।
समितिले बजारमा भइरहेको मूल्यवृद्धिका कारण, आपूर्ति शृङ्खलाको अवस्था, बजारको समग्र स्थिति तथा सम्भावित विकृतिबारे अध्ययन गर्नेछ ।
बजारमा वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्नुका कारण पहिचान गरी त्यसलाई नियन्त्रण गर्ने उपायसमेत समितिले सुझाउनेछ ।
समितिले अध्ययन पूरा गरी मूल्य स्थिरता कायम गर्ने, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्ने र उपभोक्ताको हित संरक्षण गर्ने उपायसहित एक महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन बुझाउने सचिव तामाङले बताएका छन् ।