मुस्ताङको लोमन्थाङमा भारतको सहयोगमा निर्मित विद्यालय छात्रावास भवन उद्घाटन
नेपाल बोली
२०८३ मंसिर १३, शनिबार
मुस्ताङ– नेपालको गण्डकी प्रदेशअन्तर्गत मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ स्थित श्री दिव्य दीप माध्यमिक विद्यालयमा भारत सरकारको सहयोगमा नवनिर्मित छात्रावास भवनको उद्घाटन गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा नवनिर्मित छात्रावास भवनको उद्घाटन गर्नुभएको हो ।
उक्त छात्रावास भवन भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत निर्माण गरिएको हो । परियोजना लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो। उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ छात्रावास भवनले विद्यार्थी तथा शिक्षकहरूका लागि शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातवटै प्रदेशमा गरी कुल ६०५ वटा परियोजना अघि बढाइएको भारतीय दूतावासले जनाएको छ । तीमध्ये गण्डकी प्रदेशमा ६४ वटा परियोजना सञ्चालनमा रहेका छन् भने मुस्ताङ जिल्लामा मात्रै १८ वटा परियोजना रहेका छन् ।
यसैगरी, भारत सरकारले गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ। तीमध्ये मुस्ताङ जिल्लाले ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस प्राप्त गरेको छ ।
भारत र नेपालबीचको बहुआयामिक सहकार्यलाई प्रतिबिम्बित गर्ने यस्ता परियोजनाले शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका क्षेत्रमा सहयोग पुर्याउँदै नेपालको विकास र समृद्धिका लागि नेपाल सरकारको प्रयासलाई थप सुदृढ बनाउने भारतीय पक्षले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै