जनकपुर–अयोध्या रेलले खोल्यो धार्मिक पर्यटनको नयाँ ढोका
जनकपुरधाम— रामायणकालीन सभ्यतासँग जोडिएका नेपालका जनकपुरधाम र भारतको अयोध्या अब रेलमार्गबाट प्रत्यक्ष जोडिएका छन् । माता सीताको जन्मभूमि र भगवान् रामको जन्मभूमिबीच सुरु हुन लागेको रेल सेवाले धार्मिक पर्यटनसँगै स्थानीय व्यापार र आर्थिक गतिविधिमा नयाँ सम्भावना देखाएको छ ।
जनकपुरधाम–अयोध्या रेल सेवा यही शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा मङ्सिर ७ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा हरियो झण्डा देखाएर सेवाको शुभारम्भ गरेका थिए ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार अयोध्याबाट शनिबार जनकपुरधाम आउने रेलको व्यावसायिक सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । टिकटको भाडादर निर्धारण तथा केही प्राविधिक काम भइरहे पनि जनकपुरधाम रेल्वे स्टेसनबाटै टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइँदैछ ।
भारतको टिकट प्रणालीमार्फत अनलाइन टिकट लिन सकिनेछ भने नेपालबाट यात्रा गर्नेले जनकपुरधाम स्टेसनबाट टिकट खरिद गर्न सक्नेछन् । नेपाली यात्रुले नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमध्ये कुनै एक परिचयपत्रका आधारमा टिकट लिन सक्ने व्यवस्था गरिएको छ ।
शनिबार जनकपुरबाट, सोमबार अयोध्याबाट
निर्धारित तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्यातर्फ प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्कनेछ । करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै यात्रा गर्नेछ ।
जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधामलगायत स्थानमा व्यावसायिक बिसौनी रहनेछन् । ती स्थानबाट यात्रुले रेल चढ्न र ओर्लन सक्नेछन् ।
रेलमा कुल १७ डिब्बा रहनेछन् । वातानुकूलित द्वितीय तथा तृतीय श्रेणी, तृतीय इकोनोमी, शयनयान र एसएलआर डिब्बा समावेश भएकाले यात्रुले आफ्नो आवश्यकता र सुविधाअनुसार यात्रा गर्न सक्नेछन् ।
धार्मिक यात्रासँगै व्यापारको सम्भावना
जनकपुरधाम–अयोध्या रेललाई केवल यातायातको माध्यमका रूपमा मात्र नभई नेपाल–भारतको साझा धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई जोड्ने माध्यमका रूपमा हेरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले रेल सेवाले धार्मिक पर्यटनमा उल्लेख्य वृद्धि ल्याउन सक्ने बताए । उनका अनुसार भारतबाट जनकपुरधाम आउने पर्यटक बढेमा होटल, यातायात, रेस्टुरेन्ट, हस्तकला तथा स्थानीय उत्पादनको बजार विस्तार हुनेछ ।
“सीताको जन्मभूमि र रामको जन्मभूमिबीच प्रत्यक्ष रेल सम्पर्क हुनु दुवै देशका श्रद्धालुका लागि ऐतिहासिक अवसर हो,” उनले भने ।
जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, धनुषाधामलगायत धार्मिक स्थलसँगै मिथिला चित्रकला, लोककला, खानपान र सांस्कृतिक परम्परालाई पर्यटकीय प्याकेजका रूपमा विकास गर्न सकिने व्यवसायीहरूको भनाइ छ ।
रामायण सर्किटलाई बल पुग्ने अपेक्षा
जनकपुरधाम र अयोध्याबीच रेल सम्पर्क स्थापित भएपछि रामायणसँग जोडिएका धार्मिक गन्तव्यलाई एउटै पर्यटन मार्गमा जोड्ने सम्भावना पनि बढेको छ ।
धार्मिक यात्रुलाई लक्षित गरी जनकपुरधाममा मिथिला भोजन, चित्रकला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा स्थानीय पर्यटकीय स्थलको भ्रमणसहितका प्याकेज सञ्चालन गर्न सकिने सम्भावना छ ।
नियमितता र व्यवस्थापन मुख्य चुनौती
नागरिक समाजका अगुवाहरूले रेल सेवा सञ्चालन हुनु सकारात्मक उपलब्धि भए पनि यसको दीर्घकालीन सफलता नियमित सञ्चालन, सहज टिकट व्यवस्था, यात्रुको सुरक्षा र प्रभावकारी व्यवस्थापनमा निर्भर हुने बताएका छन् ।
हाल जयनगर–जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । यही रेल सञ्जाललाई आधार बनाएर जनकपुरधाम–अयोध्या विशेष सेवा सञ्चालन गर्न लागिएको हो ।
सीताको जन्मभूमि जनकपुरधाम र रामको जन्मभूमि अयोध्याबीच रेल सम्पर्क स्थापित भएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई नयाँ आधार मिलेको छ । अब चुनौती भनेको यसलाई नियमित, भरपर्दो र पर्यटकमैत्री सेवा बनाउँदै आस्थाको यात्रालाई स्थानीय अर्थतन्त्र र पर्यटनको अवसरमा रूपान्तरण गर्नु हो ।