कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, ७० सदस्यले राखे धारणा – Nepalboli

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, ७० सदस्यले राखे धारणा

   २०८३ मंसिर १२, शुक्रबार  

काठमाडौं–  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । मंसिर ८ गतेदेखि जारी बैठक शुक्रबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने भएको हो ।

बिहीबार बसेको बैठकमा ७० जना केन्द्रीय सदस्यले विभिन्न समसामयिक तथा पार्टीसँग सम्बन्धित विषयमा धारणा राखेका थिए ।

बैठकले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । कांग्रेसले निर्णय फिर्ता लिन सरकारसँग माग गर्दै विस्थापित परिवारको सुरक्षित पुनर्वास सुनिश्चित गर्न आग्रह गरेको छ ।

होल्डिङ सेन्टरसँग सम्बन्धित विषयमा समन्वय तथा सहजीकरण गर्न कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य छन् ।

आजको बैठकमा बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने तथा यसअघि उठेका विषयमा थप छलफल हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै