पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानतलासी, अनुसन्धानका लागि कागजात नियन्त्रणमा
काठमाडौं— मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धान अघि बढाउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनको घरमा खानतलासी गरेको छ ।
सीआईबीको टोलीले काठमाडौंको हेपाली हाइटस्थित अर्यालको घरमा खानतलासी गरेको हो । खानतलासीका क्रममा अनुसन्धानसँग सम्बन्धित केही कागजात नियन्त्रणमा लिइएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले बताएका छन् ।
भारतमा पक्राउ परेका अर्याललाई बिहीबार काठमाडौं ल्याइएको थियो । मेडिकल परीक्षणपछि उनलाई महाराजगञ्जस्थित सीआईबीको हिरासतमा राखिएको छ ।
मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुल गरी रकम विदेश पठाइएको आरोपमा अर्यालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उक्त प्रकरणमा अर्यालको समेत संलग्नता देखिएको दाबी गर्दै अनुसन्धान अघि बढाएको हो ।
यसअघि मङ्सिर २ गते प्रहरीले पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव तथा यातायात विभागका महानिर्देशक राजीव पोखरेलसहितका अधिकारीलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार मलेसिया जाने कामदारको मेडिकल स्क्रिनिङका नाममा अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएर उठाइएको रकम मलेसिया पठाउन चारपटक मन्त्रिस्तरीय निर्णय भएको थियो । ती निर्णय हुँदा अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव थिए ।
प्रहरीको अनुसन्धान निष्कर्षअनुसार मेडिकल स्क्रिनिङका नाममा श्रमिकबाट गैरकानुनी रूपमा असुल गरिएको १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउन अनुमति दिने प्रक्रियामा अर्यालसहितका अधिकारीको संलग्नता देखिएको छ ।
सीआईबीले अहिले पक्राउ परेका व्यक्तिहरूको भूमिका, निर्णय प्रक्रिया र रकम विदेश पठाउने क्रममा भएको भनिएको अनियमितताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।