देउवा पक्षमा लागेका जनप्रतिनिधिमाथि कांग्रेसको कारबाहीको तयारी, सांसददेखि मेयरसम्मलाई राजीनामाको दबाब
काठमाडौं— नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा खुलेर लागेका आफ्ना जनप्रतिनिधिमाथि कारबाही प्रक्रिया अघि बढाउने संकेत गरेको छ । पार्टी सभापति गगन थापाले केन्द्रीय समिति बैठकमा देउवा पक्षलाई ‘अर्कै पार्टी’को रूपमा चित्रण गर्दै कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिले त्यस्तो समूहमा लागे पदमा रहन नसक्ने चेतावनी दिएका हुन् ।
थापाले राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका मेयर–उपमेयरलगायत जनप्रतिनिधिलाई राजीनामा दिन आग्रह गरेका छन् ।
‘कांग्रेसको चुनाव चिह्न लिएर निर्वाचित भएको व्यक्ति अर्को पार्टीमा लाग्छ भने कांग्रेसको सदस्य कायम रहँदैन,’ बैठकमा थापाले भनेका छन् ।
उनले राजीनामा नदिए पार्टी विधानअनुसार आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट पारे । यससँगै देउवा पक्षमा खुलेर लागेका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिमाथि पार्टीले कस्तो कदम चाल्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोको विषय बनेको छ ।
संस्थापन पक्षले एउटै दलका दुईवटा महाधिवेशन हुन नसक्ने तर्क गर्दै देउवा पक्षको गतिविधिलाई पार्टी संरचनाभन्दा बाहिरको अभ्यासका रूपमा व्याख्या गरेको छ ।
देउवा पक्षको महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको छ । अब देउवा पक्षमा रहेका संघीय तथा प्रदेश सांसद, राष्ट्रियसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिमाथि विधानअनुसार कारबाही अघि बढ्छ वा उनीहरूले पदबाट राजीनामा दिन्छन् भन्ने विषय निर्णायक बन्ने देखिएको छ ।