नेपाल–भारत सम्बन्धमा ‘समस्या सूची’ होइन, समाधान खोज्ने बहस – Nepalboli

नेपाल–भारत सम्बन्धमा ‘समस्या सूची’ होइन, समाधान खोज्ने बहस

   २०८३ मंसिर ६, शनिबार  

काठमाडौं— नेपाल र भारतबीचको सम्बन्धलाई थप परिणाममुखी बनाउने उपायबारे केन्द्रित तीनदिने नेपाल–भारत नीति संवाद काठमाडौंमा सुरु भएको छ । दुई देशका विज्ञ, नीति निर्माता तथा प्राज्ञ सहभागी संवादमा विगतका समस्या दोहोर्‍याउनेभन्दा साझा हितका क्षेत्रमा व्यावहारिक समाधान खोज्ने विषयलाई प्राथमिकता दिइएको छ ।

नीति अनुसन्धान प्रतिष्ठान नेपालको आयोजनामा बुढानीलकण्ठस्थित होटल होलिडे इनमा शुक्रबार सुरु भएको संवादमा नेपाल–भारत सम्बन्धका राजनीतिक, आर्थिक, सांस्कृतिक तथा विकास साझेदारीका विभिन्न आयाममा छलफल हुँदैछ ।

कार्यक्रममा प्रतिनिधिसभाकी सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदासले नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने संवादले दुई देशबीचका साझा समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री बालेन साहको आगामी भारत भ्रमणबाट महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले जलस्रोतलगायतका क्षेत्रमा नेपाल र भारतले सहकार्य विस्तार गर्न सके दुवै देशले समृद्धिको लाभ लिन सक्ने बताउनुभयो । नेपाल–भारत सम्बन्ध कुनै सन्धि–सम्झौताले मात्र नभई प्राचीन सभ्यता र जनस्तरको भावनात्मक सम्बन्धले जोडिएको उहाँको भनाइ थियो ।

रसुवा बाढीका बेला भारतले गरेको सहयोगप्रति धन्यवाद दिँदै उदासले भविष्यमा यस्ता प्राकृतिक विपत्तिबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि दुवै देशले थप सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी, प्राज्ञ र नागरिक तहको सम्बन्धले पनि नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेलिरहेको उल्लेख गर्नुभयो ।

रसुवा बाढीपछि भारतबाट नेपाल आउने पर्यटकको संख्या ८० प्रतिशतले घटेको उल्लेख गर्दै उहाँले धार्मिक पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरी पर्यटक आगमन पुनः बढाउनुपर्नेमा जोड दिनुभयो ।

भारतको नीति आयोगकी सदस्य डा. जोराम आनियाले नेपालको समृद्धिमा भारतको समृद्धि पनि जोडिएको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘साथ साथ विकास’लाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले नेपालको विकासमा भारत सहकार्य गर्न सधैँ तयार रहेको बताउनुभयो ।

उहाँले नेपाल–भारत सम्बन्ध विगतको विरासतमा मात्र सीमित नभई भविष्य निर्माणको आधारसमेत भएको बताउनुभयो । नदी, पहाड र प्राकृतिक स्रोतलाई दुई देशबीचको सहकार्यको पुल बनाउनुपर्ने उहाँको भनाइ थियो ।

‘असली विषय दुई देशबीच भएका सम्झौता मात्र होइन, त्यसबाट जनताको जीवनमा कस्तो परिवर्तन आयो भन्ने हो,’ उहाँले भन्नुभयो ।

प्राकृतिक विपत्तिका समयमा भारतले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै आनियाले दुई देशबीचको सम्बन्ध कठिन अवस्थामा पनि एकअर्काको साथ दिने तहसम्म गहिरिएको बताउनुभयो । दुवै देशका युवाको आकांक्षा सम्बोधन गर्न खुला संवाद र आपसी समझदारी आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपालको प्राकृतिक सुन्दरताको प्रशंसा गर्दै उहाँले नेपाललाई आफ्नो गाउँघरजस्तै महसुस भइरहेको बताउनुभयो । सीमाभन्दा पर सांस्कृतिक र भावनात्मक सम्बन्ध कायम रहेको उल्लेख गर्दै उहाँले नेपाल र भारतले साझा तथा सार्थक यात्राका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. देवेन्द्र गौचनले भारतसँगको साझेदारीबाट नेपालले विभिन्न क्षेत्रमा लाभ लिन सकेको बताउनुभयो । उहाँले दुई देशबीच वृहत् क्षेत्रमा सहकार्य भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री बालेन साहको भारत भ्रमणले सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । रसुवा बाढीका क्रममा भारतले गरेको सहयोगप्रति उहाँले पनि धन्यवाद दिनुभयो ।

भारतको केन्द्रीय संस्कृति विश्वविद्यालयका प्राध्यापक देवेन्द्र गोचन्द बर्खेरीले नेपाल–भारत सम्बन्ध पुरातन मात्र नभई सनातन रहेको बताउनुभयो । उहाँले दुई देशलाई सामान्य छिमेकीभन्दा पनि गहिरो सांस्कृतिक सम्बन्धले जोडेको उल्लेख गर्नुभयो ।

लुम्बिनीमा भगवान् बुद्धको जन्म र बोधगयासँगको सम्बन्ध उल्लेख गर्दै उहाँले नेपाल भारतीयका लागि महत्वपूर्ण तीर्थस्थल रहेको बताउनुभयो । नेपाल र भारतबीचको विकास साझेदारी समानताको आधारमा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

‘भारत नेपालको सामु ठूलोदाइ हुँदैन, समानताका साथ रहन्छ । हामी नेपाललाई दिन्छौं मात्र होइन, नेपालबाट लिन्छौं र सिक्छौं पनि,’ उहाँले भन्नुभयो ।

नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक डा। दीपककुमार अधिकारीले नेपाल र भारतबीचको सम्बन्धलाई थप परिणाममुखी बनाउन समस्याभन्दा समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

नेपाल र भारतको रहनसहन तथा सांस्कृतिक आधारमा समानता रहेको उल्लेख गर्दै उहाँले दुई देश एउटै सांस्कृतिक धारमा अघि बढिरहेको बताउनुभयो । ‘एक्लै हिँडेर गन्तव्यमा पुग्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘नेपाल र भारतको सम्बन्ध सुदृढ गर्दै आधुनिक विकासलाई थप गति दिनु हाम्रो साझा दायित्व हो ।’

उहाँले नेपाल–भारत नीति संवादलाई समस्याको सूची बनाउने थलोभन्दा समाधानको सूची तयार गर्ने मञ्चका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष डा. प्रेमराज न्यौपानेले साझा सभ्यता र विशेष सम्बन्धलाई व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने विषय नै संवादको मुख्य उद्देश्य रहेको बताउनुभयो । नेपाल र भारतबीच सहज सम्बन्ध हुँदाहुँदै पनि त्यसबाट अपेक्षित लाभ लिन नसकेको यथार्थलाई सुधार गर्नुपर्ने उहाँको भनाइ थियो ।

मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने संवादमा नेपाल र भारतका विज्ञहरूले दुई देशबीचको सम्बन्ध, विकास साझेदारी, प्राकृतिक स्रोत, पर्यटन, संस्कृति तथा अन्य साझा सरोकारका विषयमा विभिन्न चरणमा विमर्श गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै