भारत भ्रमणअघि बालेन–रवि तीन घण्टा संवाद, के विषयमा भयो छलफल?
काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भारत भ्रमणको पूर्वसन्ध्यामा तीन घण्टा लामो भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म दुई नेताबीच छलफल भएको हो । प्रधानमन्त्रीको महत्वपूर्ण विदेश भ्रमणको तयारी भइरहेका बेला भएको लामो भेटवार्तालाई राजनीतिक तथा भ्रमणसम्बन्धी विषयमा केन्द्रित छलफलका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री शाह ३४ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै मंसिर ६ गते भारतको राजकीय भ्रमणमा जाने तयारीमा छन् । उनी आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नेछन् ।
भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन तथा राजनीतिक सल्लाहकार असिम शाहसहित उच्चपदस्थ अधिकारी सहभागी हुनेछन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा दुई देशबीचको आर्थिक तथा पूर्वाधार सहकार्यका विभिन्न विषय उठाउने तयारी छ।
विशेषगरी व्यापार, पारवहन, लगानी, सम्पर्क सञ्जाल विस्तार तथा पूर्वाधारसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ । ऊर्जा क्षेत्रका परियोजनाको उद्घाटन तथा दुई देशबीच सम्पर्क सञ्जाल विस्तारका विषयले पनि भ्रमणमा प्राथमिकता पाउनेछन् ।
भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भएको तीन घण्टा लामो संवादले भ्रमणसँगै सरकार सञ्चालन र आगामी राजनीतिक रणनीतिका विषयमा समेत छलफल भएको हुनसक्ने संकेत गरेको छ । यद्यपि भेटवार्तामा भएका विषयबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।