हसिना फर्किने चर्चाबीच गृहनगर गोपालगञ्जमा सुरक्षा कडा, १० प्लाटुन बिजिबी परिचालन
ढाका — पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्कने चर्चा चलिरहेका बेला बङ्गलादेश सरकारले उनको गृहनगर गोपालगञ्जमा सुरक्षा व्यवस्था कडा बनाएको छ । सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरिएको छ ।
गोपालगञ्जमा निगरानी बढाउन ड्रोन र बडी क्यामेरा प्रयोगमा ल्याइनुका साथै सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ ।
हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि उनको गृहनगरमा अवामी लिगका समर्थकहरूको गतिविधि बढेको बताइएको छ । बङ्गलादेशमा अवामी लिग प्रतिबन्धित अवस्थामा रहेकाले समर्थकहरूले गर्ने प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै आएको समाचारमा उल्लेख छ ।
यसैबीच, कानूनमन्त्री मो. असदुज्जमानले हसिनालाई कानुनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत बङ्गलादेश ल्याइने बताएका छन् । मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी हसिनासँग फैसलाविरुद्ध अपिल गर्ने ३० दिने समयसीमा सकिएपछि कानुनी विकल्प सीमित हुने उनको भनाइ छ ।
सन् २०२४ को जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो । फैसलाको पूर्ण पाठ भने सन् २०२६ जनवरी १३ मा सार्वजनिक भएको थियो ।
हसिनाको सम्भावित फिर्तीको चर्चासँगै गोपालगञ्जमा सुरक्षा परिचालन बढाइनुलाई बङ्गलादेश सरकारले सम्भावित राजनीतिक प्रदर्शन तथा अशान्ति रोक्न थालेको पूर्वतयारीका रूपमा हेरिएको छ ।