चैत पहिलो सातामै स्थानीय तहको चुनाव गराउने तयारी, दलसँग आयोगले थाल्यो छलफल
काठमाडौं— निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन चैतको पहिलो साताभित्र गर्ने गरी तयारी अघि बढाएको छ । निर्वाचनको मिति तय गर्ने प्रक्रियाअन्तर्गत आयोगले राजनीतिक दलहरूसँग छलफलसमेत अघि बढाउने भएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी मंसिर ४ गते राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर निर्वाचनको तयारी र वातावरणका विषयमा छलफल गरिँदैछ । दलहरूसँगको परामर्शपछि निर्वाचनको मिति निर्धारणका लागि आवश्यक प्रक्रिया अघि बढाइने आयोगको भनाइ छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ ले गाउँसभा वा नगरसभाका सदस्यको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यही कानुनी प्रावधानलाई आधार बनाएर आयोगले चैतको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको हो ।
संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगको सिफारिसमा सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नेछ । त्यसअघि राजनीतिक दलहरूसँगको छलफल, कानुनी प्रावधान तथा निर्वाचन व्यवस्थापनका विषयलाई टुंगोमा पुर्याउने आयोगको तयारी छ ।
आयोगले निर्वाचनका लागि आवश्यक तयारी अघि बढाएसँगै अब सरकारले आयोगको सिफारिसका आधारमा निर्वाचनको औपचारिक मिति घोषणा गर्ने बाटो खुल्नेछ ।