सर्वोच्चमा चार नयाँ न्यायाधीश थपिए, राष्ट्रपतिबाट नियुक्ति
काठमाडौं — सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम शुक्रबार डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो ।
नवनियुक्त न्यायाधीशमध्ये डा. बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए । सारु उच्च अदालत पाटनका न्यायाधीश थिए भने पाण्डे उच्च अदालत पाटनअन्तर्गत हेटौँडा इजलासमा कार्यरत थिए ।
त्यस्तै, डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत थिए ।
न्यायपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट नियुक्ति भएसँगै चारै जनाले अब सर्वोच्च अदालतको न्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।