मोरङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन – Nepalboli

मोरङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

   २०८३ आश्विन २१, बुधबार  

विराटनगर— भारत सरकारको आर्थिक सहयोगमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९, गोठगाउँस्थित श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण परियोजनाको उद्घाटन गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले संयुक्त रूपमा विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

 

भारतीय राजदूतावासका अनुसार श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण कार्य उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत अघि बढाइएको थियो। यो परियोजना सुन्दरहरैँचा नगरपालिकामार्फत कार्यान्वयन गरिएको हो ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीलगायत सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त हुँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए । उनीहरूले नयाँ पूर्वाधारले मोरङको सुन्दरहरैँचा नगरपालिकाका विद्यार्थी तथा शिक्षकहरूको सिकाइ वातावरण थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भारतीय दूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका ७ वटै प्रदेश र ७४ जिल्लामा गरी ६०५ वटा परियोजना सञ्चालनमा रहेका छन् । त्यसमध्ये मोरङ जिल्लामा १७ वटा परियोजनासहित कोशी प्रदेशमा १०८ वटा परियोजना रहेका छन्।

 

यसका अतिरिक्त भारत सरकारले मोरङ जिल्लामा २९ वटा एम्बुलेन्स र २७ वटा स्कुल बस उपलब्ध गराएको छ । कोशी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई थप १५० वटा एम्बुलेन्स र ६२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै