कांग्रेसको १५औँ महाधिवेशनमा मतदाता संख्या ७ हजार नाघ्यो
काठमाडौँ— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अघिल्लो महाधिवेशनको तुलनामा मतदाता संख्या उल्लेख्य रूपमा बढेको छ । केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनका लागि ७ हजार ११४ जना मतदाताको अन्तिम टुंगो लगाएको छ ।
निर्वाचन समितिले गएराति जारी गरेको विज्ञप्तिअनुसार १४औँ महाधिवेशनमा ४ हजार ७४३ जना मतदाता थिए । यस आधारमा यसपटक मतदाता संख्या २ हजार ३७१ जनाले बढेको हो ।
मतदाता संख्या बढेसँगै कांग्रेसको क्रियाशील सदस्यता पनि विस्तार भएको पार्टीले जनाएको छ । कांग्रेसका अनुसार हाल ९ लाख ६९ हजार ८४२ जना क्रियाशील सदस्य छन् ।
१४औँ महाधिवेशनका बेला कांग्रेसका क्रियाशील सदस्य करिब ८ लाख ७० हजार रहेको पार्टीको तथ्यांक थियो । प्रवक्ता देवराज चालिसेका अनुसार त्यसयता करिब ८८१ लाख क्रियाशील सदस्य थपिएका छन् ।
यससँगै १५औँ महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व चयनका लागि १४औँ महाधिवेशनभन्दा ठूलो मतदाता आधार तयार भएको छ ।