कांग्रेसको बन्दसत्र सोमबार, २१ पदाधिकारी बनाउने प्रस्ताव – Nepalboli

कांग्रेसको बन्दसत्र सोमबार, २१ पदाधिकारी बनाउने प्रस्ताव

   २०८३ आश्विन १८, आईतवार  

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि बन्दसत्र सुरु हुँदैछ। आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र बिहान ९ बजेदेखि सुरु हुने कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार प्रतिनिधिहरूलाई बिहान ८ बजे नै बन्दसत्र स्थलमा बोलाइएको छ । खाजा खाने समयपछि करिब ९ बजे औपचारिक रूपमा बन्दसत्र सुरु हुनेछ ।

बन्दसत्रमा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । त्यस्तै विधान मस्यौदा समितिका तर्फबाट विधान संशोधनसम्बन्धी प्रस्ताव र आर्थिक प्रतिवेदनसमेत पेस गरिनेछ ।

यसपटकको बन्दसत्रमा सबैभन्दा चासो भने पदाधिकारीको संख्या र संरचना परिवर्तन गर्ने प्रस्तावमा देखिएको छ । कांग्रेसमा पदाधिकारीका आकाङ्क्षीको संख्या बढेपछि व्यवस्थापनका लागि विधान संशोधन गर्न लागिएको हो ।

शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले संशोधन प्रस्ताव तयार गरिसकेको छ । बन्दसत्रबाट प्रस्ताव पारित भएपछि संशोधित व्यवस्थाअनुसार पदाधिकारीमा उम्मेदवारी प्रक्रिया अघि बढाउने तयारी छ ।

१३ बाट २१ पुग्दै पदाधिकारी

प्रस्तावित संशोधनअनुसार कांग्रेसको पदाधिकारी संख्या १३ बाट बढाएर २१ पुर्‍याउने तयारी गरिएको छ ।

१४औँ महाधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारी निर्वाचित हुने व्यवस्था थियो ।

अब भने एक सभापति, वरिष्ठसहित चार उपसभापति, दुई महामन्त्री र १३ सहमहामन्त्री रहने गरी संरचना परिवर्तन गर्ने सहमति भएको नेताहरूले बताएका छन् ।

१३ सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र दुई जना मनोनीत गर्ने प्रस्ताव तयार गरिएको छ । चार उपसभापतिमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था पनि संशोधन प्रस्तावमा समेटिएको छ ।

यस्तै, कांग्रेसको केन्द्रीय समिति भने विशेष महाधिवेशनपछि कायम भएको २३२ सदस्यीय संरचनालाई नै निरन्तरता दिने सहमति भएको छ । त्यसमा ६१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने र बाँकी सदस्य निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

बन्दसत्रबाट राजनीतिक, आर्थिक र विधानसम्बन्धी प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै