घाइते अवस्थामा पनि यात्रु बचाउन उठे क्याप्टेन स्मित, मोदीसँग भने– ‘उनीहरूलाई मर्न दिनु हुँदैन’ – Nepalboli

घाइते अवस्थामा पनि यात्रु बचाउन उठे क्याप्टेन स्मित, मोदीसँग भने– ‘उनीहरूलाई मर्न दिनु हुँदैन’

   २०८३ आश्विन १६, शुक्रबार  

काठमाडौँ— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग टेलिफोन संवाद गर्दै उनको साहस र निर्णय क्षमताको प्रशंसा गरेका छन् । गम्भीर घाइते अवस्थामा समेत यात्रुको सुरक्षालाई प्राथमिकता दिएको भन्दै मोदीले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

टेलिफोन कुराकानीका क्रममा मोदीले क्याप्टेन स्मितको स्वास्थ्यलाभका लागि भारतका विभिन्न स्थानमा प्रार्थना तथा महामृत्युञ्जय मन्त्र जाप भइरहेको बताए। उनले स्मितको साहस र सूझबुझले धेरै मानिसको ज्यान जोगिएको उल्लेख गरे ।

मोदीले भने, ‘पूरै देश तपाईंको स्वास्थ्यलाभका लागि प्रार्थना गरिरहेको छ। तपाईंको साहस, धैर्य र सूझबुझले धेरै मानिसको ज्यान जोगिएको छ ।’

क्याप्टेन स्मितले दुर्घटनाका बेला आफू लडेर गम्भीर घाइते भएको मोदीलाई बताए । चोटका कारण आफू तलै रहेको भए पनि विमानभित्रको अवस्था बिग्रँदै गएको महसुस भएपछि उठेर आवश्यक कदम चाल्नुपर्ने निष्कर्षमा पुगेको उनले सुनाए ।

‘म १७ वर्षदेखि विमान उडाउँदै आएको छु र पछिल्ला ११ वर्षदेखि क्याप्टेन छु । विमानभित्र के भइरहेको छ भन्ने मलाई राम्रोसँग थाहा हुन्छ । म तल लडिरहेको अवस्थामा पनि परिस्थिति बिग्रिँदै गएको महसुस भइरहेको थियो,’ उनले भने ।

उनका अनुसार अन्तिम प्रयास गर्दै ककपिटको ढोका खोल्न सफल भएपछि अन्य व्यक्तिहरू पनि त्यहाँ प्रवेश गर्न सकेका थिए । उक्त प्रयासमा अरू व्यक्तिहरूको समेत महत्वपूर्ण सहयोग रहेको उनले बताए ।

‘म आफ्नो ज्यान बचाउने हिसाबले अघि बढिरहेको थिएँ। तर त्यही समयमा ती मानिसहरूलाई मर्न दिनु हुँदैन भन्ने मलाई थाहा थियो,’स्मितले भने ।

पीडामा हनुमान चालिसा

कुराकानीका क्रममा क्याप्टेन स्मितले कठिन अवस्थामा आफूलाई हनुमान चालिसाले मानसिक बल दिएको बताए ।

जब पनि मलाई पीडा हुन्छ, म हनुमान चालिसा पढिरहेको हुन्छु। मलाई थाहा छ, भगवानले नै मलाई बचाउनुभएको हो,’ उनले भने ।

आफ्ना चोटलाई उनले केवल घाउका रूपमा नभई क्रमशः निको हुँदै जाने यात्राका रूपमा लिएको बताए । आफू पूर्ण रूपमा स्वस्थ हुने विश्वास पनि उनले व्यक्त गरे ।

परिवारको पनि प्रशंसा

प्रधानमन्त्री मोदीले स्मितका बुवा भूपेन्द्रभाइ, आमा गीताबेन र पत्नी सोनलबेनसँग भएको कुराकानीको प्रसंग पनि उठाए । उनले स्मितलाई दिएको संस्कारका लागि आमाको प्रशंसा गर्दै पत्नी सोनलबेनको साहस र संयमको समेत सराहना गरे ।

मोदीका अनुसार सावरकुन्डलासहित भारतका विभिन्न स्थानमा क्याप्टेन स्मितको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुका लागि पूजाआजा भइरहेको छ ।

उनले क्याप्टेन स्मितको उपचार तथा हेरचाहमा सहयोग गरेको साउदी अरब र यूएई सरकारलाई धन्यवाद दिँदै आवश्यक परेको अवस्थामा आफू एक फोनको दूरीमा रहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै