फ्लाईदुबई घटनामा ट्रम्पको चासो, घाइते भारतीय पाइलटलाई ‘हिरो’ भने – Nepalboli

फ्लाईदुबई घटनामा ट्रम्पको चासो, घाइते भारतीय पाइलटलाई ‘हिरो’ भने

   २०८३ आश्विन १५, बिहीबार  

काठमाडौँ – दुबईबाट तेल अभिवतर्फ उडेको फ्लाईदुबईको विमानमा सह–पाइलटले कप्तानमाथि चक्कु प्रहार गरेपछि उत्पन्न घटनाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग फोनवार्ता गरेका छन् ।

ट्रम्पले बुधबार नेतान्याहूसँग घटनाबारे विस्तृत कुराकानी भएको जानकारी दिँदै घाइते भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको साहसको प्रशंसा गरेका छन् । उनले मच्छरलाई ‘हिरो’को संज्ञा दिएका हुन् ।

ट्रम्पका अनुसार चक्कु प्रहारपछि गम्भीर घाइते अवस्थामा रहेका मच्छरले ककपिटको ढोका खोल्न सफल भएका थिए । त्यसपछि यात्रु तथा चालक दलका सदस्य ककपिटमा प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएका थिए ।

ट्रम्पले घटनामा संलग्न सह–पाइलट आतंकवादी हुन सक्ने वा उनको मानसिक अवस्था ठीक नरहेको हुन सक्ने बताएका छन् । तर घटनाको वास्तविक उद्देश्यबारे अनुसन्धान जारी रहेकाले निष्कर्षमा पुग्न अझै बाँकी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । फ्लाईदुबईले पनि घटनाको कारणबारे तत्काल अनुमान नगर्न आग्रह गरेको छ ।

फ्लाईदुबईको एफजेड १०७३ उडानमा १७४ जना सवार थिए । उडानका क्रममा ककपिटमा दुई पाइलटबीच झडप भएपछि विमान करिब १४ हजार फिट तीव्र गतिमा तल झरेको बताइएको छ । यात्रु तथा चालक दलका सदस्यले ककपिटमा पुगेर सह–पाइलटलाई नियन्त्रणमा लिएपछि विमानलाई साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गराइएको थियो ।
घटनामा भारतीय नागरिक क्याप्टेन मच्छर घाइते भएका छन् । उनलाई तबुकस्थित अस्पतालमा उपचार गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय अधिकारीहरूले बताएका छन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले घटनालाई गम्भीर सुरक्षा घटनाका रूपमा वर्णन गरेका छन् । साउदी अधिकारीहरूले सह–पाइलटलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छन् । आक्रमणको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन ।

यस घटनापछि इजरायलतर्फ उडान गर्ने पाइलटहरूको पहिचान र सुरक्षा जाँचलाई थप कडाइ गर्नेबारे पनि इजरायली पक्षले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै