भोटेकोशी बाढीको वैज्ञानिक पहिचान खोज्दै सरकार, नामकरणसँगै हिमाली जोखिमको अध्ययन
काठमाडौँ— रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक उत्पत्ति, भौगोलिक प्रक्रिया र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे सरकारले वैज्ञानिक अध्ययन अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घटनाको वैज्ञानिक आधारमा नामकरण गर्न सात सदस्यीय समिति गठन गरेको हो ।
बाढीलाई सामान्य अतिवृष्टि वा नदीमा आएको बाढीका रूपमा मात्र नहेरी हिमाली क्षेत्रमा उत्पन्न हुन सक्ने विभिन्न जोखिमको श्रृङ्खलाबद्ध परिणामका रूपमा अध्ययन गर्ने तयारी गरिएको छ । यससँगै घटनाको उपयुक्त नाम छनोट गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।
कुन–कुन नाममा हुँदैछ छलफल ?
जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको प्रारम्भिक अध्ययनका क्रममा बाढीको नामकरणका लागि विभिन्न प्रस्तावमाथि छलफल भएको छ । सचिवालयका अनुसार निम्न नामहरू चर्चामा छन्ः
ग्लेसियर रक एभलेन्च (Glacier Rock Avalanche)
आइस रक एभलेन्चरल्यान्डस्लाइड (Ice Rock Avalanche/Landslide)
रसुवा भोटेकोशी महाविपत् (Rasuwa Bhotekoshi Flood)
घटना विश्वमै दुर्लभ प्रकृतिको हुन सक्ने भन्दै विस्तृत अध्ययन र प्रमाण संकलनपछि मात्र उपयुक्त नाम निर्धारण गरिने छ ।