माथिल्लो त्रिशूली–१ को सुरुङमा थप दुई शव फेला, बेपत्ताको खोजी जारी
रसुवा —रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङभित्र बेपत्ताको खोजी गर्ने क्रममा आइतबार थप दुई शव फेला परेका छन् । लगातार भइरहेको खोज तथा उद्धारका क्रममा भेटिएका दुवै शव सुरुङबाट बाहिर निकालिएको आयोजनाले जनाएको छ ।
यससँगै पछिल्ला दिनमा आयोजनाको सुरुङ क्षेत्रमा फेला पर्ने शवको संख्या थपिँदै गएको छ । शनिबार मात्रै सुरुङको डिसेन्डर बेसिनको डाउनसाइटबाट दुई शव निकालिएको थियो । सोही दिन उद्धार टोलीले सुरुङभित्र फसेका एक चिनियाँ नागरिकलाई जीवितै सकुशल उद्धार गरेको थियो ।
आयोजना स्थलमा बिहीबारदेखि लगातार शव फेला परिरहेका छन् । बिहीबार एउटा खुट्टासहितको शव भेटिएको थियो भने शुक्रबार थप छ जनाको शव फेला परेको थियो ।
हालसम्म फेला परेका शवहरू पहिचान गर्न कठिन हुने अवस्थामा रहेकाले कुनै पनि शवको सनाखत हुन सकेको छैन । सुरुङभित्र अझै करिब ३०० जना मानिस फसेको हुन सक्ने आशंका गरिएको छ ।
सुरुङभित्रको अवस्था जटिल र जोखिमपूर्ण रहेकाले बेपत्ताको खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनासहित कोरियाली उद्धार टोली, शेर्पा उद्धारकर्ता तथा सर्च ड्रोन टोली परिचालन गरिएको छ ।
त्यसैगरी, विशेष तालिमप्राप्त कुकुर र अत्याधुनिक क्यामराको प्रयोग गरी सुरुङभित्र खोजी भइरहेको छ। आयोजनाका अनुसार बेपत्ताहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी छ ।