बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत – Nepalboli

बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

   २०८३ भाद्र १९, शुक्रबार  

काठमाडौं— रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ८४ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । जसमध्ये सशस्त्र प्रहरी बलका मात्रै १४ जना छन् ।

सम्पर्कविहीन भएका आफ्ना कर्मचारीको मृत्यु भएको निष्कर्ष निकाल्दै सशस्त्र प्रहरी बल, नेपालले उनीहरुका आश्रित परिवारलाई तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

संगठनका अनुसार सरकारी मापदण्ड अनुसार पाउने रकम र राष्ट्रसेवकहरुबाट संकलन गरिएको रकम जोडेर उक्त राहत दिइनेछ ।

सशस्त्रले राहत मात्र नभई दीर्घकालीन पुनर्स्थापना प्याकेज समेत ल्याएको छ । जसअनुसार मृतक कर्मचारीका परिवारले कल्याण कोषबाट लिएको सम्पूर्ण ऋण मिनाहा हुनेछ । मृतकका सन्तानलाई कक्षा १० सम्म नेपाल एपीएफ स्कुलमा निःशुल्क पढाइने छ भने परिवारका एक सदस्यलाई सीपमूलक तालिम दिइनेछ । उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णय पनि भएको छ ।

बाढीबाट ज्यान जोगाउन सफल ५ जना कर्मचारीलाई जनही ५० हजार प्रोत्साहन रकम दिइने भएको छ ।

यसैगरी विपद्मा ज्यान गुमाउने बहालवाला र घरबारविहीन भएका अवकाशप्राप्त कर्मचारीका परिवारलाई १ लाखसम्म र घाइतेलाई ५० हजारसम्म सहयोग गर्ने निर्णय सशस्त्रले गरेको छ ।

सशस्त्र प्रहरीले विपद्को यस घडीमा आफ्ना सबै कर्मचारीको ३ देखि १५ दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ ।

नेपाल प्रहरीको १० लाख थप राहत

यता नेपाल प्रहरीले पनि बाढीमा ज्यान गुमाउने आफ्ना कर्मचारीका परिवारलाई नियमावली अनुसार पाउने सुविधा बाहेक थप १० लाख राहत दिने निर्णय गरेको छ ।

भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता र खाजा खर्च दिने, घाइतेको निःशुल्क उपचार गर्ने र मृत्यु भएमा परिवारलाई १० लाख राहत दिने निर्णय गरेको थियो ।

बाढीमा सबैभन्दा धेरै ४५ जना सम्पर्कविहीन रहेको नेपाली सेनाले भने आफ्ना कर्मचारी र परिवारका लागि राहत प्याकेजबारे कुनै निर्णय गरिसकेको छैन ।

बाढीमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १४ गरी कुल ८४ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै