भोटेकोशी बाढीपछि संसद् बैठक बोलाउने तयारी, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौं— भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन तत्काल प्रतिनिधिसभा बैठक बोलाउने विषयमा आज छलफल हुँदैछ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।
बैठकमा प्रतिनिधिसभाको आगामी बैठकको मिति तय गर्नुका साथै संसद्मा पेश हुने सम्भावित एजेन्डाबारे छलफल हुनेछ । भोटेकोशी बाढीपछि संसद् बैठक तत्काल बोलाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गर्दै आएको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन प्रतिनिधिसभाको बैठक तत्काल आह्वान गर्न आग्रह गरेका थिए ।
गत भदौ १० गते भोटेकोशीमा विनाशकारी बाढी आएपछि त्यसको भोलिपल्ट अर्थात् भदौ ११ गते रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद्बाटै अधिकारसम्पन्न उच्चस्तरीय सर्वदलीय संसदीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
प्रस्तावित संयन्त्रलाई विपद्का बेला उद्धार तथा राहत वितरणको अनुगमन गर्ने र आवश्यक निर्देशन दिन सक्ने अधिकार दिने प्रस्ताव गरिएको छ । यस्तो संयन्त्र गठनका लागि संसद् बैठक आवश्यक पर्ने भएकाले ढिलाइ नगरी संसद् सञ्चालन गर्न सभामुखसमक्ष आग्रह गरिएको आङ्देम्बेको भनाइ छ ।
सर्वदलीय संसदीय संयन्त्र गठन तथा प्रतिनिधिसभा बैठक आह्वानको विषयमा समेत आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुने बताइएको छ ।