शव व्यवस्थापन गरिएको हो, अन्त्येष्टि होइनः प्रहरी
काठमाडौं—भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको शव व्यवस्थापनमा समस्या भएपछि सरकारले ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गर्न थालेको छ ।
शवको अन्त्येष्टि गर्न लागिएको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिन थालेपछि नेपाल प्रहरीले भिडियो सन्देश जारी गर्दै ‘यो अन्त्येष्टि नभई शवको अस्थायी व्यवस्थापन मात्रै भएको’ स्पष्ट पारेको हो ।
नेपाल प्रहरीका अनुसार ‘‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवलाई एयरटाइट ब्यागमा राखेर निर्धारित स्थानमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको हो ।
लामो समयसम्म शव बाह्य वातावरणमा रहँदा कुहिने प्रक्रिया तीव्र हुने र पानीका स्रोतलगायत विभिन्न माध्यमबाट ‘महामारीको जोखिम बढ्न सक्ने’ भएकाले सुरक्षित व्यवस्थापन आवश्यक भएको प्रहरीले जनाएको छ ।
प्रहरीले भनेको छ, “यो प्रक्रियालाई शवलाई दाहसंस्कार गर्न लागिएको रूपमा बुझ्नु गलत हो।” भविष्यमा शवको सनाखत भएमा सम्बन्धित परिवारले प्राप्त गर्न सक्ने गरी सुरक्षित राखिएको प्रहरीको स्पष्टोक्ति छ ।
प्रहरीका अनुसार निर्धारित स्थानमा शवहरूलाई सम्मानजनक र सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवलाई छुट्टाछुट्टै कोड नम्बर दिइएको छ ।
शवको कोड नम्बर जमिनमुनि र माथिसमेत राखिएको छ । साथै, शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेसन, फोटो, नक्सासहितको विस्तृत विवरण अभिलेखमा राखिएको प्रहरीले जनाएको छ ।
भविष्यमा कुनै शवको पहिचान खुलेमा परिवारलाई शव प्राप्त गर्न सहज हुने गरी, व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण सुरक्षित राखिएको प्रहरीको भनाइ छ ।