कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्ग कान्तिलोकपथमा पहिरो – Nepalboli

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्ग कान्तिलोकपथमा पहिरो

   २०८३ भाद्र १४, आईतवार  

काठमाडौं —पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार तत्कालका लागि काठमाडौं बाहिरिने सवारीसाधनलाई दुई वटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

‘ठूला सवारीसाधन’ काठमाडौं बाइरोड–नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् । यस्तै, ‘साना सवारीसाधन तथा माइक्रोबसका’ लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आइतबार कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको हो । सडक भासिएपछि पृथ्वी राजमार्गमा बिहानैदेखि यातायात प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

यसैबीच, कान्तिलोकपथ पनि पहिरोका कारण अवरुद्ध भएको छ । अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध हुन थालेपछि ट्राफिक प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ । स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक जानकारी लिएर मात्रै सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै