कृष्णभीरमा सडक भासिँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौं— पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार केही समयअघि कृष्णभीर क्षेत्रमा सडकको भाग भासिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।
सडक अवरुद्ध भएपछि काठमाडौं तथा मुग्लिनतर्फ गइरहेका सवारीसाधनहरू बाटोमै रोकिएका छन्, जसका कारण राजमार्गमा यात्रुको चाप बढेको छ ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सडकको अवस्था सामान्य नभएसम्म कृष्णभीर हुँदै यात्रा गर्ने सवारीसाधनलाई विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।