सुरुङमा फसेकाको उद्धार आजै साँझबाट सुरु गर्ने प्रयासमा छौँः ऊर्जामन्त्री श्रेष्ठ
काठमाडौं— रसुवा बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका मजदुर, कर्मचारी तथा स्थानीयको उद्धारका लागि उद्धार टोली आजै साँझसम्म सुरुङको मुहानसम्म पुग्ने प्रयासमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् ।
शनिबार मन्त्रालयमा सुरुङभित्र फसेका व्यक्तिका परिवारसँग भेट गर्दै मन्त्री श्रेष्ठले उद्धारका लागि रातदिन काम भइरहेको जानकारी दिए । ‘आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना छ,’ उनले परिवारलाई आश्वस्त पारे ।
मन्त्री श्रेष्ठका अनुसार शुक्रबारदेखि उद्धारका लागि डेडिकेटेड हेलिकप्टरसमेत परिचालन गरिएको छ । सुरुङको मुहान खोल्ने तथा खोज तथा उद्धारको काम रातमा समेत नरोकिएको उनले बताए ।
‘राति पनि काम रोकेका छैनौँ । राति रोक्यो भने आसै मर्छ,’ भन्दै उनले आवश्यक परे हाफ सिफ्ट वा पालो परिवर्तन गरेर भए पनि उद्धार प्रयासलाई निरन्तरता दिइरहेको बताए ।
मन्त्री श्रेष्ठले सुरुङभित्र फसेकाहरूको ज्यान जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताए । उद्धार टोली सुरुङसम्म पुग्नुअघि नै कुनै माध्यमबाट अक्सिजन पुर्याउन सकिन्छ कि भनेर प्रयास भइरहेको उनको भनाइ छ ।
‘पहिला जीवित हुनुपर्छ । त्यसका लागि अक्सिजन कुनै पाइपबाट पुर्याउन सकिन्छ कि भनेर लागेका छौँ,’ उनले भने ।
खोज तथा उद्धारका लागि नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयका उच्च तहका विज्ञ तथा अधिकारी परिचालन गरिएको पनि उनले जानकारी दिए । नुवाकोट र रसुवामा छुट्टाछुट्टै वरिष्ठ व्यवस्थापन टोली परिचालन गरिएको उनको भनाइ छ ।