विपद् राहतका लागि सरकारी कर्मचारीको तलबबाट १० दिनसम्मको रकम कट्टा गरिने
काठमाडौं— बाढी तथा अन्य विपद्बाट भएको क्षतिपछि राहत र पुनःस्थापनाका लागि सरकारले सरकारी कर्मचारीको तलबबाट तहअनुसार निश्चित रकम कट्टा गर्ने भएको छ । संघीय सरकारका कर्मचारीबाट मात्रै करिब ३६ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने अनुमान गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सचिवस्तरीय बैठकले राष्ट्रसेवक कर्मचारीका तर्फबाट विपद् प्रभावित नागरिकका लागि आर्थिक योगदान गर्ने निर्णय गरेको हो । निर्णयअनुसार भदौ महिनाको तलबबाट कर्मचारीको श्रेणीअनुसार २ देखि १० दिन बराबरको रकम कट्टा गरिनेछ।
कसको कति तलब काटिने ?
श्रेणीविहीन कर्मचारी : २ दिन बराबरको रकम
राजपत्र अनङ्कित वा सो सरह : ५ दिन बराबर
राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणी वा सो सरहः ७ दिन बराबर
राजपत्राङ्कित प्रथम र विशिष्ट श्रेणी :१० दिन बराबर
प्रदेश तथा स्थानीय तहका कर्मचारी र सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत सोहीअनुसार उद्धार कोषमा योगदान गर्न आह्वान गर्ने निर्णय भएको छ ।
बैठकले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र अस्थायी आवास व्यवस्थापनलाई उच्च प्राथमिकता दिने निर्णय पनि गरेको छ ।
बिदामा पनि कर्मचारी खटाइने
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै मन्त्रालय तथा सरकारी निकायले आफ्ना स्रोत, साधन र जनशक्ति तत्काल परिचालन गर्नुपर्ने निर्णय भएको छ ।
आवश्यकताअनुसार सार्वजनिक बिदाका दिनसमेत कर्मचारीलाई अनिवार्य रूपमा काममा खटाउने र विपद् प्रभावित क्षेत्रमा सरकारी तथा सार्वजनिक सेवा नियमित राख्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।