रसुवा बाढीको विनाशपछि देशवासीका नाममा प्रधानमन्त्री बालेनको सम्बोधनः ‘पीडितको उद्धार, उपचार र पुनस्थापना राज्यको पूर्ण जिम्मेवारी’
काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण पुगेको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गहिरो दुःख र शोक व्यक्त गरेका छन । देशवासीका नाममा एक भावुक तथा विशेष सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले पीडित परिवारको उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि सरकार सम्पूर्ण तागतका साथ मैदानमा उत्रिएको जानकारी गराएका छन ।
प्रधानमन्त्री शाहका अनुसार बाढीको खबर प्राप्त हुनासाथ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर महत्वपूर्ण निर्णयहरू गरिएका छन् । सरकारले प्रभावित जिल्लाका सम्बन्धित स्थानीय तहहरूलाई आगामी तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा समेत गरेको छ ।
प्रधानमन्त्रीका अनुसार सुरक्षा निकायको परिचालन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई परिचालन गरी हालसम्म २५० भन्दा बढी नागरिकको सफल उद्धार गरिएको छ । निःशुल्क स्वास्थ्य उपचार घाइतेहरूको उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या सुरक्षित राखिएको छ । थप उपचारका लागि प्रादेशिक र सुरक्षा निकायका स्वास्थ्यकर्मी टोलीहरू प्रभावित क्षेत्रमा खटिएका छन् ।
प्रभावित क्षेत्रमा खाद्यान्न, सफा खानेपानी, औषधी र अस्थायी बासस्थानको व्यवस्था मिलाउन सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय भइरहेको छ । भौतिक पूर्वाधार पुनर्निर्माण, भत्किएका सडक, पुल, बिजुली र खानेपानी आयोजनाहरू प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवन सामान्य बनाइने प्रधानमन्त्री शाहले बताए।
प्रधानमन्त्रीले प्रभावित जिल्लाहरू र सरकारको प्रतिबद्धता बाढीका कारण रसुवाको उत्तरगया र गोसाइँकुण्ड नुवाकोटको विदुर धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाका विभिन्न क्षेत्रहरू बढी प्रभावित बनेको बताएका छन ।
प्रधानमन्त्री शाहले शोक सन्तप्त परिवारजनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्—“तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन । तर म विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ ।”रातभर पनि खोजी र उद्धार कार्य निरन्तर जारी रहने बताउँदै प्रधानमन्त्रीले सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी(व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकलाई राहत अभियानमा हातेमालो गर्न हार्दिक आह्वान गर्नुभएको छ ।