घरबाट हराएकी ११ वर्षीया बालिका वीरगञ्जको बालगृहमा सुरक्षित फेला – Nepalboli

घरबाट हराएकी ११ वर्षीया बालिका वीरगञ्जको बालगृहमा सुरक्षित फेला

   २०८३ भाद्र ९, मंगलवार  

बारा — घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी बाराको जितपुरसिमरा उपमहानगरपालिका–६ सिदरियाकी ११ वर्षीया बालिका वीरगञ्जस्थित बालगृहमा सुरक्षित अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गुलाब्सा खातुनकी छोरी सनाया खातुन गत जेठ १७ गते घरबाट कसैलाई जानकारी नदिई निस्किएपछि सम्पर्कविहीन भएकी थिइन् । आफन्त तथा छरछिमेकमा खोजी गर्दा पनि नभेटिएपछि उनकी आमाले भदौ ९ गते इलाका प्रहरी कार्यालय सिमरामा बालिकाको हुलियासहित खोजीका लागि निवेदन दिएकी थिइन् ।

निवेदनपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले बालिकाको घरमा पुगेर परिवार तथा स्थानीय जनप्रतिनिधिसँग जानकारी लिँदै खोजी अघि बढाएको थियो ।

खोजीका क्रममा बालिका वीरगञ्जस्थित एक बालगृहमा सुरक्षित रहेको जानकारी पाएपछि प्रजिअ मिश्रसहित सुरक्षा समितिका पदाधिकारी, प्रहरी टोली र बालिकाकी आमा बालगृह पुगेका थिए ।

प्रहरीका अनुसार बालिका सकुशल अवस्थामा रहेकी र आमाको सहमतिमा बालगृहमा बस्दै आएको पाइएको छ ।

प्रहरीले सनाया यसअघि पनि दुई पटक घरबाट हराएको जनाएको छ । गत फागुनमा हराएकी उनलाई इलाका प्रहरी कार्यालय सिमराले फेला पारी परिवारको जिम्मा लगाएको थियो । त्यसैगरी वैशाखमा पुनः हराएकी उनलाई जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरले फेला पारी आमाको जिम्मा लगाएको थियो ।

बालिका हाल सुरक्षित अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै