राष्ट्रिय सभा बैठकमा बालिका हिंसाको मुद्दाः ‘सरकारको उदासीनताले असुरक्षा बढ्यो’ – Nepalboli

राष्ट्रिय सभा बैठकमा बालिका हिंसाको मुद्दाः ‘सरकारको उदासीनताले असुरक्षा बढ्यो’

   २०८३ भाद्र ९, मंगलवार  

काठमाडौं —देशमा बढ्दो असुरक्षा र बालिकामाथि भइरहेका जघन्य अपराधप्रति राष्ट्रिय सभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले बालिका बलात्कार तथा हत्याजस्ता घटनामा तत्काल दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बाराको जीतपुरसिमरा–१ भक्तिनगरकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर सरकारको आलोचना गरेका हुन् ।

सांसद गीता देवकोटाले बालबालिकालाई यौन हिंसाबाट जोगाउन विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताइन् । उनले बाल यौन हिंसासम्बन्धी मुद्दालाई फास्ट ट्र्याकमार्फत टुंग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिन माग गरिन् ।

सांसद सोमनाथ पोर्तेलले पीडित परिवारमाथि दबाब दिएर भिडियो छायाङ्कन गरिएको विषयमा गृह प्रशासनको आलोचना गरे । उनले पीडितको दुःख र पीडालाई सार्वजनिक तमासाको विषय नबनाउन सरकारलाई आग्रह गरे ।

त्यस्तै, सांसद सम्झना देवकोटाले पछिल्लो पाँच वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढेको बताइन्। यस्ता घटनाले परिवार र समाजको संरचनामै गम्भीर असर पारिरहेको उनको भनाइ थियो ।

सांसदहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कानुनी कार्यान्वयन, पीडितमैत्री न्याय प्रणाली तथा सरकारी निकायको जवाफदेहिता बढाउन आवश्यक रहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै